११ पुष २०८१, बिहीबार

‘सोधीखोजी गरेर समाचार सामाग्री उत्पादन गर्नुपर्छ’



बर्दिया । स्थानीय तहलाई सहि मार्गमा दो¥याउन पत्रकारहरुले स्थानीय तहका बारेमा सोधीखोजी गरेर समाचार सामाग्री उत्पादन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
सञ्चार प्रतिष्ठान नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बर्दियाको सहकार्यमा बुधबार गुलिरियामा भएको परिवर्तित शासकीय स्वरुपका सन्दर्भमा मिडियाको भूमिका विषयक अन्तरक्रिया तथा सम्वाद सहजीकरण कार्यक्रमको उद्घाटन शत्रका वक्ताहरुले स्थानीय तहको अधिकारको अधिकार, काम, कर्तव्यको बारेमा सञ्चार माध्यमहरु उजागर गर्नुपर्ने बताएका हुन् । उनीहरुले स्थानीय तह जनताको नजिकको सरकार भएकाले जनताले संघीयताको अनुभूति स्थानीय तहबाटै हुने गरी काम गर्नमा सहयोग पु¥याउन समेत सञ्चार माध्यमको भूमिका हुने बताए ।
गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले खोजपत्रकारिताको माध्यमबाट सञ्चार माध्यमले राज्यलाई सहि बाटोमा दो¥याउनुपर्ने बताए । उनले पत्रकार निस्क्रिय भएमा राज्यले विकासमा गति लिन नसक्ने बताउँदै पत्रकारहरुले स्थानीय तहको कमी कमजोरी सञ्चार माध्यमद्वारा औंल्याइदिनुपर्ने बताए । उनले केही पत्रकारहरुले कुरा नै नबुझेर समाचार बनाउँदा समस्या हुने गरेको बताउँदै अनुसन्धान गरेर समाचार बनाउन सल्लाह दिए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको विकास नहुनुमा पत्रकारहरु नै केहि हदसम्म दोषी रहेको बताए । उनले पत्रकारहरु व्यवसायिक हुन नसक्दा स्थानीय तहका मुद्दाहरु ओझेलमा परेको बताए ।
पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कृष्णप्रसाद बस्यालले स्थानीय तहका मुद्दा उठान गरेर पत्रकारहरुले नगरको विकासलाई सहि बाटोमा दो¥याउन सक्ने बताए । उनले सञ्चार माध्यमहरु समाजको ऐनाको रुपमा रहेको बताउँदै राज्यका गतिविधिलाई नजिकबाट नियालेर समाचार बनाउनुपर्ने बताए ।
बर्दियाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष झा र प्रमुख प्रशासकीय अधिकृत पौडेलले सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सञ्चार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक मनमोहन स्वाँरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार