२७ पुष २०८१, शनिबार

टीकापुर चौथो नगर सभा



टीकापुर । टीकापुर नगरपालिकाको चौथो नगर सभा सोमबार टीकापुरमा भएको छ । नगर सभाले चालू आर्थिक वर्षको बजेट संशोधन, ऐन संशोधन, समितिहरुको गठन र सार्वजनिक महत्वका प्रस्तावमा विधेयक ल्याउन विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।


नगर सभा उद्घाटनमा नगर प्रमुख तपेन्द्रबहादुर रावलले छाउपडी कुप्रथा र बालविवाह विरुद्ध संकल्प प्रस्ताव पास गरेको तथा पहिलेदेखि नै कार्यरत कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्न विधेयक ल्याउने बताए ।
चौथो सभामा नगर उपप्रमुख केशरी रावल विष्टले यस अघिको सभामा विभिन्न खर्च शीर्षकमा विनियोजन गरेको बजेटमा थपघट गर्दै चार करोड ३८ लाख ५० हजार रुपैयाको रकमान्तर गरेको जानकारी दिइन् । उनले छ करोड २९ लाख ३० हजार रुपैयाको नया योजना प्रस्तुत गरिन् ।
नगर सभाले विधेयक समितिका संयोजक अक्कल माझीले प्रस्तुत गरेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५ संशोधन प्रस्ताव स्वीकृत गर्दै विपद् व्यवस्थापन कोषबाट वार्षिक १५ प्रतिशत रकम कार्यक्रम बनाई खर्च गर्न पाउने व्यवस्था थपेको छ ।
त्यस्तै, नगर सभाले दुईवटा समिति गठन गरेको छ । सभाले लालबीर चौधरीे संयोजक तथा बलिराम चौधरी, बलबीर थारु, रमेश विक र विना थारु सदस्य रहेको लेखा समिति बनाएको छ । त्यस्तै, भरत साउद संयोजक तथा यामलाल रेग्मी, लायकराम चौधरी, आशा चौधरी र कैलाशपति चौधरी सदस्य रहेको सुशासन समिति गठन गरेको छ ।
सभाले महालेखा परीक्षकको प्रारम्भीक प्रतिवेदनमा बेरुजु औल्याएको रकमलाई लेखा समितिमार्फत अध्ययन र पुष्ट्याई गरी फछर्यौटका लागि महालेखा परीक्षकको कार्यालयलाई पठाउने निर्णय गरेको छ । चौथो नगर सभाले वडा नम्बर ५ र ७ मा खुलेका शहरी स्वास्थ्य केन्द्रका लागि अहेव, अनमी र सहयोगी गरी ३÷३ जनाको दरबन्दी अनुमोदन गरेको जनाइएको छ ।
नगरसभामा सार्वजनिक महत्वका प्रस्तावहरु पनि पेश भएका छन् । नगर सभाका सदस्य रमेश विकले मदिराको जथाभावी विक्री वितरणले मानव स्वास्थ्यमा गम्भीर असर परेको, बालबालिकाहरु रक्सीको लतमा परेकोले इजाजत लिएका व्यापारीले मात्रै साझ ४ बजेदेखि ८ बजेसम्म बिक्री गर्ने गरी नियन्त्रण गर्नुपर्ने र रातभरी लाउडस्पीकर बजाउदा विद्यार्थी तथा आम नागरिकलाई हल्ला हुने भएकाले राती १० बजेपछि लाउडस्पीकर बजाउन बन्देज गर्ने प्रस्ताव पेस गरे ।
त्यस्तै गंगाराम आचार्यले प्लाष्टिकले प्रकृति र शहर प्रदूषित भैरहेकाले प्लाष्टिकरहित टीकापुर शहर बनाउन प्लाष्टिकमा प्रतिवन्ध लगाउदै प्लाष्टिकरहित शहर घोषणाको माग गरे ।
नगर सभाले समाजका कुरीतिको रुपमा समाजमा रहेको छाउपडी कुप्रथा र बालबिबाह रोक्न छाउपडी कुप्रथा र बालबिबाह विरुद्ध संकल्प प्रस्ताव पारित गरेको छ ।
यस्तै स्थानीय तहमा पहिलेदेखि नै काम गरिरहेका कर्मचारीको समायोजन गर्ने सम्वन्धी प्रस्तावमा सदस्यहरु लालबीर चौधरी, रमेश विक, प्रकाशबहादुर बुढा, गंगाराम आचार्य, दीर्घ ठकुल्लाले कर्मचारीको माग अनुसारको व्यवस्था गर्दै समायोजन गर्न समर्थन गरेपछि संघीय सरकारको कानूनसंग नबाझिने गरी विधेयक ल्याउन विधेयक समितिमा पठाएको छ ।
सभा नगर प्रमुख तपेन्द्रबहादुर रावलको अध्यक्षतामा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार