२९ पुष २०८१, सोमबार

विदेश जाने सपना त्यागेर व्यापारमा जम्दै



कैलाली । विदेश गएको लामो समयसम्म श्रीमान् घर नफर्केपछि आफू पनि विदेश जाने निर्णयमा पुगेकी कैलालीको गौरीगंगा नगरपालिका—१, चौमालाकी विष्णुदेवी ओझा अहिले विदेश जाने लहड त्यागेर व्यावसायमा जुटेकी छन् ।
वैदेशिक रोजगारमा रहेका श्रीमान्ले दोस्रो विवाह गरेको थाहा पाएपछि उनले पनि विदेश जाने निर्णय गरिन् । पासपोर्ट बनाइन् । त्यहाँ गएर श्रीमानलाई खोज्ने र उतै काम गरेर पैसा कमाउने सोच बनाएकी विष्णुदेवीमा एकाएक परिवर्तन आयो । गाउँमा सुरक्षित आप्रवासन परियोजना (सामी) को आर्थिक सहयोगमा सञ्चालित वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि उनको सोचाईमा परिवर्तन आएको थियो । ‘अनि मैले विदेश जाने सोच परिवर्तन गरे र स्वदेशमै स्वरोजगार बन्नुपर्छ भन्ने अठोट गरे– ‘उनले अहिले आफूले श्रृंगार, तरकारी र फलफुल पसल सञ्चालन गरिरहेको बताइन् ।’
उनले महिला समूह र दाजुको सहयोगमा व्यावसाय सुरु गरेको बताइन् । महिला समूहबाट ३० हजार ऋण तथा दाजुबाट ३५ हजार रुपैयाँ सहयोग लिएर व्यावसाय सुरु गरेको उनले बताइन् ।
वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारमा जाँदा हुने समस्या र स्वदेशमै पनि केही गर्न सकिने जानकारी भएपछि हिम्मत पलाएका् उनले बताइन् ।
उनका श्रीमान् नेत्रप्रसाद ओझा युएई गएको ८ वर्ष भइसकेको छ । उनको नौ वर्षको छोरा छ । ‘विवाह भएको १४ वर्ष पुग्यो’ उनले भनिन्– ‘श्रीमान् घर फर्केर आउलान् भन्ने आशैआशमा आठ वर्ष बितिसक्यो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार