खाद्य संस्थानले अर्को सातादेखि धान खरिद शुरु गर्दै
धनगढी । मंसिरको पहिलो साता सकिनै लाग्दा पनि नेपाल खाद्य संस्थान, धनगढीले धान खरिद कार्य शुरु गरेको छैन । संस्थानको केन्द्रीय कार्यालयले धान खरिदको लक्ष्य निर्धारण गर्न ढिलाई गरेका कारण समस्या भएको धनगढी कार्यालयले जनाएको छ ।
“बुधबार मात्र केन्द्रीय कार्यालयले धान खरिदको लक्ष्य र समर्थन मूल्य तोकेर पठाएको छ” खाद्य संस्थाका क्षेत्रीय प्रमुख प्रेमनारायण भण्डारीले भने– “अब हामी आइतबारदेखि धान संकलन कार्य शुरु गर्दै छौं ।” उनले संस्थानलाई ५० हजार क्विन्टल धान संकलन गर्न लक्ष्य तोकिएको बताए । उनले सरकारले तीन महिनाअघि नै धानको समर्थन मूल्य तोकेकाले संस्थानले यस वर्ष सोही मूल्यमा धान खरिद गर्ने बताए ।
खाद्य संस्थानले गत आर्थिक वर्ष २०७४/७५ मा ४५ हजार क्विन्टल धान संकलन गर्ने लक्ष्य लिएको थियो । शुरुमा प्रति क्विन्टल एक हजार नौ सय ५० रुपैयाँमा धान खरिद गर्ने निर्णय गरेको संस्थानलाई सो मूल्यमा धान संकलन गर्न कठिनाई भएपछि दुई हजार एक सय ५० रुपैयाँमा धान खरिद शुरु गरेको थियो । चालू आर्थिक वर्षमा खाद्य संस्थानले प्रति क्विन्टल दुई हजार तीन सय ३१ रुपैयाँमा धान खरिद गर्ने प्रमुख भण्डारीले बताए ।
विगतका वर्षहरूमा संस्थानले भजनी, टीकापुर, जोशीपुर, धनगढी लगायतका छ वटा स्थानबाट धान संकलन गर्दै आएकोमा यस वर्ष टीकापुर र धनगढीको मोहनपुरबाट मात्र धान संकलन गर्न केन्द्रीय कार्यालयले निर्णय गरेको उनले बताए ।
“केन्द्रले दुई स्थानबाट मात्र धान संकलन गर्न भनेको छ” उनले भने– “हामी विगतकै जसरी धान संकलन गर्ने योजना बनाउँदै छौं ।”
उनले संस्थानले धान खरिद र संकलन तिहार लग्त्तै गर्ने योजना बनाए पनि केन्द्रको परिपत्र नआउँदा समस्या भएको बताए । अहिले परिपत्र आए पनि व्यवस्थापन गर्न केही समय लाग्ने उनले बताए ।
खाद्य संस्थानले अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा चामल ढुवानी गरिरहेको छ । खाद्य संस्थानका अनुसार प्रदेशको बाजुरामा आठ सय २०, कोल्टीमा आठ सय ९१, मुगुमा छ सय ६०, तल्कोटमा एक सय, काडामा एक सय दुई क्विन्टल चामल ढुवानी भइसकेको छ ।
त्यस्तै, खण्डेश्वरीमा चार सय, सुनसेरामा चार सय, पारिबगरमा एक सय, पुर्चौडीमा तीन सय, मेलौलीमा ९०, पुलाउमा छ सय ४५ र डडेल्धुरामा पाँच सय २६ क्विन्टल चामल ढुवानी गरिसकेको जनाएको छ ।