गाडी चोरीशैलीमा लग्न थालेपछि नियन्त्रणमा लिनु परेको हो : मुख्यमन्त्रीको कार्यालय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीमा रहेको बा २ झ २३५४ नम्बरको नयाँ गाडी चोरीशैलीमा लग्दै गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रण लिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनाली र हालै सरुवा भएका बैतडीका तत्कालीन डिभिजन प्रमुख प्रविन साहको मिलेमतोमा प्रदेश सरकारलाई जानकारी नगराई विभागबाट ल्याएको बा १ झ ४३१५ नम्बरको पुरानो गाडी कार्यालयमा बुझाई नयाँ गाडी लग्न लागेको सूचना प्राप्त भएपछि मुख्यमन्त्रीको कार्यालयले गाडी नियन्त्रणमा लिएको हो ।
सो कार्यालय २०७५ जेठ २३ गतेदेखि प्रदेश सरकार मातहत आएपछि कार्यालय र कार्यालयमा रहेका गाडी लगायतका सामग्रीहरूको सुरक्षाको निम्ति बैतडीका प्रजिअलाई प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद बिडारीले निर्देशन दिएका थिए ।
प्रदेश सरकारका प्रमुख सचिव बिडारीको निर्देशन समेत लत्याउँदै तत्कालीन डिभिजन प्रमुख साहले आफू सरुवा भएसँगै गाडी लग्न थालेको सूचना प्राप्त भएपछि गाडी नियन्त्रणमा लिनु परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनाली र बैतडीका तत्कालीन प्रमुख प्रविन साहको निर्देशनमा विभागबाटै दुई जना सवारी चालक र एक जना कार्यालय सहयोगी पठाई गाडी काठमाडौं लग्दै गर्दा सोमबार अत्तरियाबाट गाडी नियन्त्रणमा लिइएको थियो ।
केन्द्र सरकार अन्तर्गत रहेको कार्यालय खारेज भई प्रदेश सरकारको मातहतमा आएपछि कार्यालयमा भएका गाडीहरू यथावत राख्नुपर्ने भएपनि हाम्रो निर्देशनलाई अवज्ञा गर्दै चोरीशैलीमा गाडी लग्दै गर्दा नियन्त्रणमा लिनु परेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी गराए ।
ओलीका अनुसार सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीको निर्देशनमा काठमाडौंबाट पुरानो गाडी ल्याई कार्यालयमा राखेर नयाँ गाडी लग्न थालेपछि मैनालीसँग स्पष्टिकरण समेत लिइएको छ ।