डुकुछापका १७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
ललितपुर / ललितपुरको गोदावरी नगरपालिका–८ को दुर्गम गाउँ डुकुछापस्थित गणेश माध्यमिक विद्यालयका करिब १७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
वीटीआई व्यावसायिक ग्रुपअन्तर्गतको कल्प फाउन्डेसनले शुक्रबार एक समारोहबीच विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।

विद्यार्थीलाई वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझी, प्रमुख कार्यकारी अधिकृत दिलीपराज बराल, विद्यालयका प्रधानाध्यापक बद्री पौडेल र वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष भीष्म धिताललगायतले शैक्षिक सामग्री वितरण गरेका थिए।
सो अवसरमा बोल्दै वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष रायमाझीले विद्यालय र विद्यार्थीलाई सहयोग गर्न आफूहरू सधैँ तत्पर रहेको बताए। उनले अघिल्लो वर्ष पनि छ वटा विद्यालयलाई सहयोग गरिएको स्मरण गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन भइरहने बताए।
वीटीआई ग्रुपका प्रमुख कार्यकारी अधिकृत बरालले विद्यार्थीको पठनपाठनमा सहयोग गर्नु सबै संस्थाको दायित्व भएको बताए।
विद्यालयका प्रधानाध्यापक बद्री पौडेलले विद्यालयमा अझै कम्प्युटर ल्याबको आवश्यकता रहेको भन्दै वीटीआई ग्रुप तथा कल्प फाउन्डेसनबाट थप सहयोगको अपेक्षा रहेको बताए।
कार्यक्रममा विद्यालयकी शिक्षिका निर्मला जिसीले स्वागत मन्तव्य राखेकी थिइन्।





