९ आश्विन २०८३, शुक्रबार

मानसिक स्वास्थ्यबारे सचेतना फैलाउँदै कल्प फाउन्डेसन



काठमाडौ/ ललितपुरको भैँसेपाटीस्थित गोल्डेन गेट रिह्याव सेन्टरमा मानसिक स्वास्थ्य तथा सुस्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ।

वीटीआई व्यावसायिक ग्रुपअन्तर्गत सञ्चालित सामाजिक तथा गैरनाफामूलक संस्था कल्प फाउन्डेसनले शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन तथा लागुऔषध दुर्व्यसनबाट मुक्त हुने उपायबारे छलफल चलाए।

कार्यक्रममा रिह्याव सेन्टरमा रहेका लागुऔषधलगायत विभिन्न दुर्व्यसनबाट प्रभावित करिब ४० जनाको सहभागिता थियो। सेन्टरमा अहिले ८५ जना उपचाररत रहेको जनाइएको छ।

डा. अधिकारीले व्यस्त जीवन बिताउने, राम्रो संगत गर्ने, आफूलाई विश्वास लाग्ने व्यक्तिसँग समस्या सुनाउने र आवश्यक पर्दा चिकित्सकको परामर्श लिने गरेमा मानसिक समस्या तथा दुर्व्यसन नियन्त्रण गर्न सहयोग पुग्ने बताए। सामाजिक सञ्जालको उचित प्रयोगमा पनि ध्यान दिन उनले आग्रह गरे।

दुर्व्यसनमा फसेका व्यक्तिलाई परिवार र समाजले अपराधीका रूपमा हेर्न नहुने उनको भनाइ थियो। उनीहरूलाई समस्यामा परेको व्यक्तिका रूपमा बुझेर सम्मान र सहयोग गर्नुपर्ने उनले बताए। व्यक्तिको इच्छाशक्ति, परिवार र समाजको सहयोग भए लागुऔषधलगायतका दुर्व्यसनबाट बाहिर निस्कन सकिने उनले बताए।

तनाव र आत्तिने अवस्था आएमा सामान्य श्वासप्रश्वास अभ्यासले पनि सहज बनाउन सकिने डा. अधिकारीले बताए। उनका अनुसार भुइँमा बसेर नाकबाट चार सेकेन्डसम्म सास लिने, चार सेकेन्ड रोक्ने र चार सेकेन्ड लगाएर मुखबाट सास फाल्ने अभ्यास गर्न सकिन्छ।

कार्यक्रममा रिह्यावमा रहेका सहभागीले डा. अधिकारीसँग आफ्ना समस्या र जिज्ञासाबारे प्रश्न गर्दै समाधानका उपायबारे जानकारी लिए।

वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले पहिलो पटक दुर्व्यसनबाट प्रभावित व्यक्तिहरूको समस्या नजिकबाट बुझ्ने अवसर पाएको बताए। “डा. अधिकारीबाट धेरै कुरा बुझ्न पाएँ। दुर्व्यसन घरघरको समस्या रहेछ भन्ने महसुस भयो,” उनले भने।

रायमाझीले आगामी दिनमा पनि यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिने बताए। उनले जानीनजानी भएका गल्तीबाट बाहिर निस्केर नयाँ जीवन सुरु गर्न दुर्व्यसनबाट प्रभावित व्यक्तिहरूलाई आग्रह गरे।

वीटीआईका प्रमुख कार्यकारी अधिकृत दिलिपराज बरालले गोल्डेन गेट रिह्याव सेन्टरमा आएर समाजको एउटा महत्वपूर्ण समस्या बुझ्ने अवसर पाएको बताए। “आगामी दिनमा पनि यस्ता सचेतना कार्यक्रममार्फत ज्ञान र सीप बाँड्न तयार छौँ,” उनले भने।

गोल्डेन गेट रिह्याव सेन्टरका अध्यक्ष नागेश खड्कीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा दुर्व्यसनबाट प्रभावित व्यक्तिको आँट, हिम्मत र विश्वास बढ्ने बताए। यसले उनीहरूलाई सामान्य जीवनमा फर्किन सहज हुने उनको भनाइ थियो।

कार्यक्रममा वीटीआईका वरिष्ठ कार्यक्रम प्रबन्धक राजन अधिकारीलगायत रिह्याव सेन्टरका पदाधिकारीहरूको उपस्थिति थियो।

सो अवसरमा कल्पका कार्यकारी अध्यक्ष रायमाझी र डा. अधिकारीलाई गोल्डेन गेट रिह्याव सेन्टरले मायाको चिनो दिएको थियो ।

यस्तै गरेर डा. अधिकारीले आफ्नो कवितसंग्रह सर्वाइबल नोट गोल्डेन गेट रिह्याव सेन्टर र कल्प फाउन्डेसनलाई हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार