३० भदौ २०८३, मंगलबार

भोटेकोशीको बाढीमा हराएका सपना र पीडाको कथा ‘ए नदी ए हिमाल’ ( भिडियो सहित)



काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको पीडा र क्षतिको कथा अब गीतमार्फत सार्वजनिक भएको छ। बाढीबाट प्रभावित परिवारको पीडा, बेपत्ता आफन्तको प्रतीक्षा र तहसनहस भएका संरचनालाई समेट्दै ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक गरिएको हो।

गीतले बाढीका कारण विस्थापित भएका परिवारले भोगेको दुःखसँगै ध्वस्त भएका घर–संरचना र अधुरा बनेका सपनालाई उजागर गरेको छ। विपद्को पीडासँगै गीतले जलवायु परिवर्तन, अव्यवस्थित विकास, नदी तथा हिमाली क्षेत्रको दोहन र विपद् आउनुअघि गर्नुपर्ने तयारीका विषयमा समेत प्रश्न उठाएको छ।

डी डी पन्तको शब्द रहेको गीतमा प्राकृतिक विपत्तिले व्यक्ति, परिवार र समुदायमा पार्ने दीर्घकालीन असरलाई मुख्य विषय बनाइएको छ। प्रकृति र मानवीय गतिविधिबीच बिग्रँदै गएको सम्बन्धलाई समेत गीतमार्फत प्रस्तुत गरिएको पन्तले बताएका छन्।

गीतको स्वर र संगीत सुनोडटकममार्फत तयार गरिएको हो। बाढी आउँदाको भयावह अवस्था, त्यसले पुर्‍याएको विनाश र विपद्पछिको जनजीवनका दृश्यलाई गीतको भिडियोमा समेटिएको छ।

भिडियोमा भोटेकोशी बाढीले पुर्‍याएको वास्तविक क्षतिलाई दृश्यमा उतार्दै विपद्को पीडा र त्यसबाट प्रभावित मानिसको अवस्थालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। भिडियो सम्पादन सुभाष पन्तले गरेका हुन्।

‘ए नदी ए हिमाल’ केवल बाढीको घटनालाई सम्झाउने गीत नभई प्राकृतिक विपत्ति, मानवीय कमजोरी र आगामी दिनमा अपनाउनुपर्ने सावधानीतर्फ ध्यानाकर्षण गराउने सिर्जनाका रूपमा सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार