बल्थली रिसोर्टको बन्द कोठामा एमालेको पावर गेम: बादल, शंकर र विष्णुको काँधमा प्रतिवेदन मिलाउने ‘भारी’
काभ्रे/ काभ्रेको रमणीय बल्थली रिसोर्टमा एमाले नेताहरूले गरेको तीनदिने मन्थनले अन्ततः कुनै ठोस निष्कर्ष निकाल्न सकेन। तर, यसले एमालेभित्र सुसुप्त रूपमा रहेको आन्तरिक द्वन्द्वलाई भने छताछुल्ल पारेको छ।
शनिबारदेखि सोमबारसम्म चलेको कार्यदलको बैठक रिसोर्टको चिसो हावामा तात्तिएर एउटै निष्कर्षमा पुग्यो— छुट्टाछुट्टै दिशातिर मोडिएका दुई प्रतिवेदनलाई अब एउटै मालामा पिरोन्ने जिम्मा तीन शीर्ष नेताहरूलाई दिने। जसका लागि संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सम्मिलित तीन सदस्यीय ‘सम्पादन टोली’ गठन गरी टोली काठमाडौं फर्किएको छ।
किन चर्कियो विवाद? (दुई किनारका दुई प्रतिवेदन)
एमालेको आगामी नेतृत्व र नीतिको लडाइँ हो। विवादका मुख्य विन्दुहरू यस्ता छन् :
- महासचिव पोखरेलको ‘सुधारवादी’ अस्त्र: ६५ पृष्ठ लामो यो प्रतिवेदनमा पार्टीभित्र कडा प्रावधानहरू राख्न प्रस्ताव गरिएको छ। जसअनुसार विधान अधिवेशनबाट हटाइएको ७० वर्षे उमेर हद र मुख्य कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनः ब्युँताउनुपर्ने उल्लेख छ। एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा बस्न नपाउने यो प्रस्तावले सिधै अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गरेको छ। यसमा उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङलगायतका प्रभावशाली नेताहरूको दरिलो साथ छ।
- बादलको ‘ओली–रक्षा’ मोर्चा: कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ भने अध्यक्ष ओलीको कुर्सी सुरक्षित गर्ने मिसनमा देखिएका छन्। उनले आफ्नो अलग्गै प्रतिवेदनमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाको बचाउ गर्दै अध्यक्ष ओलीको विकल्प खोज्न नहुने अडान राखेका छन्। ओली खेमामा संकट पर्दा बलियो खम्बा बन्ने गरेका बादलले महासचिव पोखरेलको प्रतिवेदनलाई काट्ने कसरत गरे, तर कार्यदलभित्रै अल्पमतमा परे।
ओलीको ‘फोन निर्देशन’: “बैठक क्यान्सिल गरेर हिँड्नू!”
बल्थलीमा बैठक चलिरहँदा काठमाडौंबाट अध्यक्ष ओलीले कतै पनि ‘लचकता’ अपनाएका छैनन्। सोमबार बैठक चलिरहेकै बेला ओलीले संयोजक बादललाई सिधै फोन गरेर विशेष महाधिवेशन तथा प्रतिनिधि परिषद्को एजेन्ठमा कुनै पनि हालतमा सहमति नजनाउन कडा निर्देशन दिएको खुल्न आएको छ।
ओलीले बादललाई भनेका थिए, “विशेष महाधिवेशन र प्रतिनिधि परिषद्मा सहमति नत गर्नु, यदि गर्नैपर्ने अवस्था आयो भने बैठक नै क्यान्सिल गरेर हिँड्नु।”
महासचिव पोखरेलको प्रतिवेदनमा ‘विशेष महाधिवेशन’ को कुरा समेटिएपछि ओली शिविरमा तरंग पैदा भएको छ। सचिवालय र केन्द्रीय कमिटीमै बहुमत जुटाउन हम्मेहम्मे परिरहेको बेला विशेष महाधिवेशनमा जाँदा पार्टीभित्रको बाँकी पकड पनि गुम्ने डर ओली पक्षलाई छ।
अब के हुन्छ?
गत जेठ १० गतेको सचिवालय बैठकले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा एक बनाउन यो कार्यदल बनाएको थियो। १५ सदस्यीय यो कार्यदलमा महासचिव पोखरेललाई सुरुमा सदस्य-सचिवको भूमिका दिइएको थियो, जो पछिल्लो समय ओलीसँग केही दुरीमा छन्।
अहिलेको अवस्थामा बादल, विष्णु पौडेल र शंकर पोखरेलको यो त्रिपक्षीय सम्पादन टोलीले यी दुई विपरीत ध्रुवका प्रतिवेदनलाई कसरी एउटै दस्तावेजमा समेट्छ भन्नेमा एमालेको आगामी भविष्य निर्भर गर्छ। कार्यदलको अर्को बैठक आगामी असोज १ गते सम्मका लागि स्थगित भएको छ, तबसम्म यो ‘सम्पादन’ को जादु कसरी काम गर्छ, त्यो हेर्न बाँकी छ।




