२९ भदौ २०८३, सोमबार

ग्यास अभाव र महँगी नियन्त्रण गर्न अखिल (क्रान्तिकारी) को अल्टिमेटम



काठमाडौ/ बजारमा देखिएको एलपी ग्यासको अभाव, बढ्दो महँगी र कालोबजारी तत्काल नियन्त्रण गर्न अखिल (क्रान्तिकारी) ले सरकारलाई चेतावनी दिएको छ।

दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको र बजारमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी तथा मुनाफाखोरी भइरहेको भन्दै संगठनले सरकारको ध्यानाकर्षण गराएको हो।

अखिल (क्रान्तिकारी) का अनुसार ग्यास अभावको प्रत्यक्ष मारमा सहरमा कोठा भाडामा लिएर अध्ययन गरिरहेका विद्यार्थी, सुत्केरी महिला, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने नागरिक परेका छन्। खाना पकाउन आवश्यक एलपी ग्याससमेत सहज रूपमा नपाउँदा सर्वसाधारणको दैनिक जीवन थप कठिन बनेको संगठनको भनाइ छ।

संगठनले ग्यास वितरण प्रणालीलाई व्यवस्थित गर्दै विद्यार्थी, सुत्केरी, वृद्धवृद्धा र विपन्न नागरिकलाई प्राथमिकतामा राखेर नियमित तथा सहज आपूर्ति गर्न सरकारसँग माग गरेको छ।

त्यसैगरी, अत्यावश्यक वस्तुको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा मुनाफाखोरीमा संलग्न व्यक्ति र व्यवसायीमाथि कडा कारबाही गर्न पनि माग गरिएको छ। बजारमा बिचौलियाको प्रभाव अन्त्य गरी अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने संगठनको जोड छ।

अखिल (क्रान्तिकारी) ले आफ्ना माग तत्काल सम्बोधन नभए विद्यार्थी र पीडित जनतालाई साथमा लिएर सडक संघर्षमा उत्रिने चेतावनी दिएको छ। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित राज्य निकायले लिनुपर्ने संगठनले जनाएको छ।

अखिल (क्रान्तिकारी) का संयोजक डि. बि. बुढाथोकीले भदौ २८, २०८३ मा जारी गरेको प्रेस वक्तव्यमा सरकारलाई यस्तो चेतावनी दिइएको हो।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार