व्यवसायी भट्ट मनी लाउन्डरिङ मुद्दामा पुर्पक्षका लागि जेल चलान
काठमाडौं/ सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अभियुक्त व्यवसायी दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। झण्डै तीन महिनादेखि प्रहरी हिरासतमा रहेका भट्टविरुद्ध बुधबार विशेष अदालतले थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्टसँगै व्यवसायी सुलभ अग्रवाललाई पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनीहरूलाई कारागारमा राखिनेछ।
भट्टविरुद्ध विभिन्न अदालतमा सरकारी वकिल कार्यालयले चारवटा मुद्दा दायर गरेको छ। तीमध्ये सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो। अन्य मुद्दा भने काठमाडौं जिल्ला अदालतमा धितोपत्र तथा बीमा कसुर र पाटन उच्च अदालतमा बैंकिङ कसुरअन्तर्गत विचाराधीन छन्।
सम्पत्ति शुद्धीकरण मुद्दामा कुल ३९ प्रतिवादी छन्, जसमा ३४ जना व्यक्ति र पाँच कम्पनी समावेश छन्। अभियोजन पक्षले भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै सुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र अर्का प्रतिवादी गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते तथा गोल्छालाई वैशाख १० गते पक्राउ गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि दायर अभियोगपत्रमा आर्थिक वर्ष २०७४/७५ मा भट्टको स्वामित्वमा रहेको घरजग्गाको पुनर्मूल्याङ्कनमार्फत ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको अतिरिक्त सम्पत्ति देखिएको उल्लेख छ।
यस्तै, भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७/७८ मा ४५ करोड रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा थप ९ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गरिएको अभियोगपत्रमा उल्लेख छ। उक्त रकम बैंकिङ कसुर तथा कर्जा अपचलनबाट प्राप्त स्रोतमार्फत लगानी गरिएको आशंका अनुसन्धानले औँल्याएको छ।




