२ असार २०८३, मंगलबार

अनुसन्धानमा सहयोग गर्न साउनभित्र नेपाल फर्किने देउवा दम्पतीको प्रतिबद्धता



काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा सहयोग गर्न आफूहरू साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्।

देउवा दम्पतीले जेठ २८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्र पठाउँदै दुई महिनाभित्र स्वदेश फर्केर विभागको अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको चार पृष्ठ लामो पत्रमा उनीहरूले अनुसन्धानबाट भाग्न वा कानुनी प्रक्रियामा अवरोध सिर्जना गर्ने कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन्।

इमेलमा उनीहरूले आफूहरू देशबाहिर रहेका कारण ‘भागेको’, ‘अनुसन्धानमा उपस्थित नभएको’ जस्ता टिप्पणीहरू सार्वजनिक रूपमा फैलिएको उल्लेख गर्दै त्यसका आधारमा पक्राउ पुर्जी जारी गर्ने वा नेपाल फर्किन कठिन हुने अवस्था नबनाइदिन आग्रह गरेका छन्।

पत्रमा देउवा दम्पतीले सार्वजनिक जीवनमा लामो समय जिम्मेवारी सम्हालेका व्यक्तिका रूपमा कानुनी प्रक्रियाप्रति सम्मान रहेको उल्लेख गरेका छन्। उनीहरूले अनुसन्धान रोक्ने वा प्राविधिक आधारमा प्रतिरोध गर्ने नभई खुला र पारदर्शी अनुसन्धानमार्फत आफ्नो निर्दोषिता पुष्टि गर्न चाहेको बताएका छन्।

हाल आफूहरू कुन देशमा रहेको भन्ने विवरण इमेलमा खुलाइएको छैन। देउवा दम्पती २०८२ फागुन १३ गते सिंगापुर गएको सार्वजनिक जानकारी छ। त्यसपछि उनीहरू हङकङमा देखिएको भए पनि पछिल्लो बसाइबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

इमेलमा सर्वोच्च अदालतबाट जेठ ११ गते प्राप्त अन्तरिम आदेशको पनि स्मरण गराइएको छ। उनीहरूले अदालतमा भएको बहसका क्रममा आफूहरूविरुद्ध ठोस प्रमाण नभए पनि विदेशमा रहेकाले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्नुपर्ने तर्क प्रस्तुत गरिएको जानकारी पाएको उल्लेख गरेका छन्।

देउवाले गत असोजमा परेको उजुरीपछि अनुसन्धान टोलीले आफ्नो आगलागीबाट क्षतिग्रस्त घरको निरीक्षण गरिसकेको दाबी गरेका छन्। अनुसन्धानका क्रममा घरको विभिन्न तल्ला तथा जलेर बाँकी रहेका सामग्रीहरूको परीक्षण हुँदा कुनै बहुमूल्य वस्तु वा नगद फेला नपरेको कुरा खानतलासी मुचुल्काले पुष्टि गरेको उनको भनाइ छ।

देउवा दम्पतीले आफूहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत कुनै संवैधानिक निकायले छानबिन नगरेको उल्लेख गर्दै विभागको अनुसन्धानबाट समेत गैरकानुनी सम्पत्ति वा बहुमूल्य वस्तु फेला नपरेको जिकिर गरेका छन्।

उनीहरूले स्वदेश फर्किएपछि सम्बन्धित निकायसमक्ष उपस्थित भई अनुसन्धानमा आवश्यक सहयोग गर्ने पुनः प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार