१ असार २०८३, सोमबार

सुदूरपश्चिममा मध्यरातमा बजेट पेस, प्रतिपक्षको बहिस्कार



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातिमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दा प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सभा बैठक बहिस्कार गरेको छ।

संविधानअनुसार असार १ गते प्रस्तुत हुनुपर्ने बजेट सत्ता गठबन्धनभित्रकै विवादका कारण झण्डै सात घण्टा ढिलो गरी मध्यरातिमा मात्रै प्रदेश सभामा पेस गरिएको हो।

बैठकको सुरुमै समय लिएर बोल्दै नेकपाका सांसद मानबहादुर धामीले सरकारले बजेट प्रस्तुतिको विषयलाई ‘नाटक’ बनाएको आरोप लगाए। उनले समयमै बजेट ल्याउन नसक्नु सरकारको असफलता भएको टिप्पणी गर्दै प्रदेश सभाको गरिमा र प्रक्रियामाथि नै प्रश्न उठेको बताए।

‘सरकारले किन समयमै बजेट ल्याउन सकेन ? मध्यरातिमा बजेट ल्याएर के सन्देश दिन खोजिएको हो ? विगतका वर्षहरूमा बजेट रोक्ने कुनै कानुनी वा राजनीतिक अवरोध थिएन। यो सरकारको अक्षमता हो,’ उनले भने।

धामीले यस्तो प्रक्रियामा सहभागी हुन नसकिने घोषणा गरेपछि नेकपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।

प्रतिपक्षको बहिस्कारबीच आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

सोमबार दिनभर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटको सिलिङ, योजना छनोट तथा स्रोत बाँडफाँटको विषयमा विवाद हुँदा बजेट अन्योलमा परेको थियो। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले उठाएका मागमा मुख्यमन्त्री कमलबहादुर शाह सहमत बनेपछि राति अबेर मात्रै सत्ता पक्षबीच सहमति जुटेको थियो।

सहमतिपछि बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेसँगै मुख्यमन्त्री र मन्त्रीहरू बजेटको ब्रिफकेस लिएर प्रदेश सभा पुगेका थिए।

यसअघि साँझ ५ बजेका लागि तय गरिएको बजेट भाषण आन्तरिक राजनीतिक खिचातानीका कारण मध्यरातिसम्म सरेको थियो। प्रतिपक्षी दलको बहिस्कारपछि संसद् हलमा सत्ता पक्षका सांसदहरू मात्रै उपस्थित रहेका छन् ।।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार