चीन–नेपाल सांस्कृतिक सम्बन्ध जोड्दै ‘हिमालयन रिम फिल्म प्रदर्शनी’
पोखरा/ चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित फिल्म प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’को नेपाल कार्यक्रम सम्पन्न भएको छ।
फिल्मलाई सांस्कृतिक आदानप्रदानको माध्यम बनाउँदै आयोजित प्रदर्शनीले चीन र नेपालबीचको चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाएको आयोजकले जनाएको छ।

हिजो पोखरामा सम्पन्न कार्यक्रमले नेपाली विद्यार्थी, प्राध्यापक र फिल्मकर्मीलाई समकालीन चिनियाँ चलचित्र, विशेषगरी वुसिया संस्कृतिको नयाँ आयामसँग परिचित गराएको थियो। प्रदर्शनीअन्तर्गत त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालमा विशेष फिल्म प्रदर्शन, अन्तरक्रिया, व्याख्यान तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिएको थियो।
काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा ‘लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’ र ‘ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’ चलचित्र प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि आयोजित भर्चुअल अन्तरक्रियामा चिनियाँ युवा लेखक वेन जियर सहभागी हुँदै जिन योङका साहित्य, वुसिया कथाको नैतिक पक्ष, साहित्यबाट चलचित्रमा रूपान्तरण र समकालीन समाजमा ‘वीरताको भावना’बारे चर्चा गरेका थिए।

त्यसक्रममा सहभागी विद्यार्थी र प्राध्यापकहरूले चिनियाँ वुसिया कथामा प्रस्तुत हुने न्याय, साहस र मानवीय मूल्यहरू नेपाली कला तथा संस्कृतिमा पाइने प्रकृति र मानवबीचको सहअस्तित्वको भावनासँग मेल खाने धारणा व्यक्त गरेका थिए।
त्यस्तै, बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाङ यानले ‘चाइनिज वुसिया सिनेमाः फ्रम सेन्चुरी टु द वल्र्ड’ शीर्षकमा व्याख्यान दिँदै चिनियाँ मार्सल आर्ट चलचित्रको विश्वव्यापी प्रभाव र आधुनिक सन्दर्भबारे प्रकाश पारेका थिए।

कार्यक्रमको दोस्रो चरण पोखरा विश्वविद्यालयमा केन्द्रित थियो। प्रदर्शनीकी संस्थापक ह्वाङ जुनयानले उद्घाटन गर्दै हिमालय क्षेत्रका मुलुकबीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन फिल्म महत्वपूर्ण माध्यम बन्न सक्ने बताइन्। पोखरामा आयोजित विशेष अन्तरक्रियामा अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयका सहप्राध्यापक मा रुइछिङले ‘वुसिया सिनेमादेखि एआई बजारसम्म’ विषयमा छलफल सञ्चालन गरेका थिए। कार्यक्रममा चीनको एक अग्रणी एआई कम्पनीका विज्ञ रायन सहभागी हुँदै कृत्रिम बुद्धिमत्ताले फिल्म निर्माण, सम्पादन, वितरण र बजार संरचनामा ल्याइरहेको परिवर्तनबारे अनुभव साझा गरेका थिए।
छलफलमा एआईले चलचित्र उद्योगको भविष्य कसरी पुनःपरिभाषित गरिरहेको छ भन्ने विषय प्रमुख रूपमा उठाइएको थियो। ‘द मास्टर’ र ‘आई एम ह्वाट आई एम–२’ चलचित्र पनि प्रदर्शन गरिएका थिए। ‘द मास्टर’ले चिनियाँ मार्सल आर्ट परम्परा र वीरताको यथार्थवादी चित्रण प्रस्तुत गरेको थियो भने ‘आई एम ह्वाट आई एम–२’ मा डिजिटल दृश्य प्रभावमार्फत युवाको सपना, संघर्ष र आत्मविश्वासको कथा देखाइएको छ ।

चलचित्र प्रदर्शनपछि ‘द मास्टर’का निर्देशक स्यु हाओफेङ र ‘आई एम ह्वाट आई एम–२’का सहनिर्माता ली यिलिनले भर्चुअल माध्यमबाट दर्शकसँग प्रत्यक्ष संवाद गरेका थिए। उनीहरूले चिनियाँ चलचित्रको अन्तर्राष्ट्रिय बजार, मार्सल आर्ट सौन्दर्यशास्त्र र एनिमेसनको विश्वव्यापी सम्भावनाबारे विचार राखेका थिए।
फिल्म प्रदर्शन र शैक्षिक कार्यक्रमसँगै ‘वुसिया फेयर’ तथा परम्परागत हस्तकला कार्यशालाले पनि सहभागीको ध्यान खिचेको थियो। स्थानीय कलाकारको सहयोगमा विद्यार्थीहरूले हस्तनिर्मित सामग्री तयार पार्दै चिनियाँ र नेपाली संस्कृतिबीचको साझा भावनालाई अनुभव गर्ने अवसर पाएका थिए।

यसै क्रममा एआई प्रविधिको प्रयोगबाट तयार गरिएको प्रदर्शनीको आधिकारिक गीत ‘द एन्डलेस राइड’ समेत सार्वजनिक गरिएको थियो। आयोजकका अनुसार उक्त गीतले हिमालय क्षेत्रका युवाहरूबीचको संवाद र सभ्यतागत आदानप्रदानलाई समकालीन संगीतमार्फत अभिव्यक्त गरेको छ।
प्रदर्शनी आयोजना भएको समयमै नेपालका परराष्ट्रमन्त्री चीन भ्रमणमा रहेकाले यस कार्यक्रमलाई दुई देशबीचको सांस्कृतिक कूटनीतिक सम्बन्धसँग पनि जोडेर हेरिएको छ। आयोजकले हिमालयन रिम फिल्म प्रदर्शनीलाई केवल चलचित्र महोत्सव नभई विभिन्न सभ्यता, संस्कृति र युवा सिर्जनशीलताबीचको संवादको मञ्चका रूपमा व्याख्या गरेका छन्।

आयोजकका अनुसार यो कार्यक्रमले चिनियाँ वुसिया संस्कृतिलाई नेपाली दर्शकमाझ पुर्याउनुका साथै नेपाल र चीनका फिल्मकर्मी, विद्यार्थी तथा युवा सर्जकहरूबीच दीर्घकालीन सहकार्यको आधार पनि तयार गरेको छ। चलचित्र, प्रविधि र संस्कृतिलाई एउटै सूत्रमा बाँध्दै सम्पन्न भएको प्रदर्शनीले भविष्यमा एसियाली चलचित्र उद्योगबीच थप सहकार्य र आदानप्रदानको सम्भावना बलियो बनाएको विश्वास व्यक्त गरिएको छ।








