लम्कीचुहामा घर हस्तान्तरण कार्यक्रम सम्पन्न
लम्कीचुहा, कैलाली : लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा राष्ट्रिय दलित नेटवर्क नेपाल तथा ह्याबिटाट फर ह्युमानिटी इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित आवास कार्यक्रम अन्तर्गत ३८ वटा घरहरू हस्तान्तरण गरिएको छ।
लम्कीचुहा नगरपालिका ४, कौवापुरमा रहेका ३८ जना मुक्त कमैया परिवारहरूलाई नगरप्रमुख सुशिला शाहीले एक औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरिन। कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी नगरप्रमुख शाहीले समाजमा अति गरिब र सीमान्तकृत समुदायका रुपमा रहेका मुक्त कमैया परिवारहरूका लागि सुरक्षित आवास निर्माण कार्य आफैँमा प्रशंसनीय रहेको बताउँदै, सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गरिन।

लम्कीचुहा नगरपालिका वडा ४, कौवापुरमा आर्थिक वर्ष २०७९/०८० देखि २०८०/०८१ सम्म निर्माण सम्पन्न गरिएका यी ३८ वटा घरहरू लक्षित समुदायको सहभागितामा, उपभोक्ता समिति परिचालनमार्फत निर्माण गरिएका हुन्।
कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष मोहन ओडले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ को धारा ४० को उपधारा ५ र ६ मा व्यवस्था गरिएअनुसार भूमि तथा आवास अधिकार सुनिश्चित गर्न योगदान पुर्याउने उद्देश्यले भूमिहीन दलित, मुक्त हलिया, कमैया र बादी समुदायलाई लक्षित गरी सुरक्षित आवास निर्माण कार्य अघि बढाइएको जानकारी दिए।

त्यस्तै, राष्ट्रिय दलित नेटवर्क नेपालकी महासचिव पार्वती आग्रीले विगत तीन वर्षदेखि संस्थाको पहलमा कैलाली र कञ्चनपुर जिल्लामा सामाजिक रूपमा पछाडि पारिएका भूमिहीन दलित, मुक्त हलिया, कमैया र बादी समुदायका लागि १५९ वटा घर निर्माण सम्पन्न भइसकेको र चालु आर्थिक वर्षभित्र थप १०२ वटा घर निर्माण भइरहेको जानकारी दिए। साथै, उनले राष्ट्रिय दलित नेटवर्क नेपालको प्राथमिकता नीतिगत जनअधिकार, सामाजिक परिचालन र संघर्षसहित अबको चरणमा आवास निर्माणलाई समेत सशक्त रूपमा अघि बढाइने कुरामा जोड दिए।




