१९ मंसिर २०८१, बुधबार

नेपाल र चीनबीच बीआरआई सहकार्य ‘फ्रेमवर्क’मा हस्ताक्षर



काठमाडौं/ नेपाल र चीनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको ‘फ्रेमवर्क’मा बुधबार बेइजिङमा हस्ताक्षर गरेका छन् ।

फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका छन् ।

बीआरआईमा सम्झौता गर्ने विषयमा नेपालमा सत्ताधारी दलहरु बीच नै ठूलो मतान्तर थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाली र चिनियाँ अधिकारीबीच बेल्ट एन्ड रोड सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ।

तीन दिनदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बीआरआई कार्यान्वय अघि बढाउछन कि बढाउदैनन् भन्नेमा आशंका गरिएको थियो । बीआरआई कार्यान्वयनमा लैजाने कुरामा नेपाल भित्र, छिमेकी भारत, अमेरिकासहितका अन्य शक्तिशाली मुलुकले ठूलो चासो राखिरहेका बेला बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

चीनद्वारा प्रस्तावित ‘कार्यान्वयन योजना’ शीर्षक नराखी सहकार्य ‘फ्रेमवर्क’ का नाममा सम्झौता गर्न दुई दल तयार भएअनुसार नै बेइजिङमा बुधबार दुई देशका अधिकारीबीच हस्ताक्षर आदान प्रदान भएको छ ।

प्रधानमन्त्री ओली चीन जानुअघि बीआरआई ‘फ्रेमवर्क’ मा हस्ताक्षर गर्ने विषयमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार