१९ मंसिर २०८१, बुधबार

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीसंग स्पष्ट धारणा राखे




काठमाडौ/ चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा नेपाललाई ९ अर्ब रुपियाँ अनुदान दिने घोषणा मात्र गरेनन् निक्कै गम्भीर कुरा पनि गरेका छन् ।

राष्ट्रपति सीले ओलीका कुरा सुनिसकेपछि भनेका थिए चीन – नेपाल असल छिमेकी तथा हिमाल र नदीले जोडिएका असल साझेदार भएको हुन ।

ओलीको दीर्घकालीन र चीनप्रतिको दृढ प्रतिबद्धताको प्रशंसा गरेका थिए । चिनियाँ विदेशमन्त्रालयद्वारा प्रकाशित वक्तव्यमा उल्लेख भए अनुसार सीले ओलीसँगको संवादमा इमानदारीपूर्वक एकअर्कालाई सम्मान र समर्थन गर्दै आएका कारण द्विपक्षीय सम्बन्ध स्वस्थ र स्थिररुपमा अघि बढेको पनि उल्लेख गरेका थिए ।

ओलीसँगको वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले आगामी वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको पनि चर्चा गरे । त्यसक्रममा सीले चीनले आफ्नो वैश्विक कूटनीतिमा चीन नेपाल सम्बन्धलाई महत्वपूर्ण स्थानमा राखेको पनि विश्वास पनि प्रधानमन्त्री ओलीलाई दिलाए ।

चिनियाँ राष्ट्रपति सीले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने, परम्परागत मित्रतालाई सुदृढ गर्ने, विकास र समृद्धिका लागि चिरस्थायी मित्रताको पक्षमा चीन रहेको बताए । उनले चीन-नेपाल रणनीतिक सहयोगात्मक साझेदारीलाई प्रवद्र्धन गर्ने उद्देश्यलाई कायम राख्न इच्छुक इच्छुक रहेको बताउँदै विकासको ठूलो उपलब्धि हासिल गर्नु जरूरी रहेको बताए ।

नेपालको राष्ट्रिय परिस्थिति अनुकूल विकासको पथ छनोटलाई चीनले सम्मान गर्ने, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न नेपाललाई साथ दिने र नेपालसँगको रणनीतिक पारस्परिक विश्वासलाई निरन्तर सुदृढ गर्ने वाचा पनि चिनियाँ राष्ट्रपति सीले गरेका छन् ।

उनले एकअर्कासँग सम्बन्धित मुद्दाहरूका सवालमा दुवै पक्षको मुख्य हितसहित दृढतापूर्वक साथ दिन चीन तयार रहेको कुरामा पनि जोड दिएका छन् ।

चिनियाँ राष्ट्रपति सी चीन–नेपाल ट्रान्स हिमालय बहु्आयामिक अन्तरसम्बन्ध सञ्जालको निर्माण विस्तारै वास्तविकतामा परिणत हुँदै गएको पनि बताए । चीनले नेपालसँगको सहयोगलाई निरन्तरता दिन, उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माण गर्न, बन्दरगाह, यातायात, प्रसारण लाइन, सञ्चार र अन्य क्षेत्रमा सम्पर्क र सहयोग सुदृढ गर्न तयार रहेको पनि सीले उल्लेख गरे ।

भूपरिवेष्ठित देश नेपाललाई भू-जडित देशमा परिणत गर्दै नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग र्पुयाउन चीन तयार रहेको बताउदै चिनियाँ राष्ट्रपति सीले चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्दै व्यवसायका लागि प्रोत्साहित गर्न हामी आफ्नो क्षमताअनुसार काम गरिरहने छौ भनेका थिए ।

चिनियाँ राष्ट्रपति सीले सन् २०२५ लाई ‘नेपाल पर्यटन वर्ष’ घोषणा गर्ने कुरामा चीनले समर्थन गर्ने बताए । व्यापार, पर्यटन र विदेश अध्ययनका लागि चीन आउने नेपालीहरूलाई हामी स्वागत गर्दछौँ उनले भने, विकासशील देशहरूको साझा हितको रक्षा गर्न संयुक्त राष्ट्र संघ र अन्य बहुपक्षीय मञ्चहरूमा नेपालसँग समन्वय र सहयोगलाई सुदृढ गर्न चीन इच्छुक छ।

चिनियाँ राष्ट्रपति सीसंग प्रधानमन्त्री ओलीले के भने
प्रधानमन्त्री ओलीले चीनले अतुलनीय विकासका उपलब्धि हासिल गरेको बताए । चिनियाँ राष्ट्रपति सी बुद्धिमत्तापूर्ण नेतृत्वमा ती उपलव्धी हासिल भएको भन्दै प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले चीनको सहयोगले नेपालले धेरै प्रगति गरेको बताउदै चीनको मित्रका रूपमा नेपाललले गहिरो गौरव र प्रेरणा पाएको बताए । उनले भने चीनको विकास, समृद्धि र सफलताको अनुभव नेपाललाई काम लाग्छ ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच केवल मित्रता मात्रै रहेको तर कुनै समस्या नरहेको धारणा पनि राखे । उनले दुई देशबीचको सम्बन्ध मित्रता, समानता र सम्मानमा आधारित रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाललाई विभिन्न ठूला सहयोग उपलब्ध गराउँदै ‘भूपरिवेष्ठित देश’ बाट ‘भू-जडित देश’ मा परिणत गर्न सहयोग गरेकोमा चीनलाई विशेष धन्यवाद दिएका थिए । नेपाल बेल्ट एण्ड रोड परियोजनालाई अघि बढाउने कुरामा सक्रिय रूपमा भाग लिन इच्छुक रहेको ओलीको धारणा थियो ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भने नेपालमा लगानी गर्न थप चिनियाँ कम्पनीहरूलाई स्वागत गर्दछ, विभिन्न क्षेत्रमा हामीबीच व्यावहारिक र गहिरो सहयोग छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले तिब्बत र ताइवान दुवै चीनको भूभागका अविभाज्य भाग भन्ने नेपालको मान्यता दोहोर्याएका थिए ।

नेपालमा एक चीन नीतिमा अडिग छ, कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन, चीनको हितलाई हानी र्पुयाउन र चीनको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको हामी विरोध गर्छौँ उनले भने, चीनले प्रस्ताव गरेको विश्वव्यापी विकास पहल जस्ता महत्वपूर्ण मुद्दाहरूले वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थिति र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सघाएको छ ।

बेइजिङमा रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले मंगलबार साँझ बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली भेटमा भएको कुराकानीको पुष्टि गरेका छन् ।

चिनियाँ राष्ट्रपति नेपालका प्रधानमन्त्री बीच बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा भेटघाट भएको हो ।

नेपाल चीन बीच भएका समझदारीका विषय यस्ता छन्
१-टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदान-प्रदान
२-नेपाल चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र
३-नौतले वसन्तपुर दरबार पुनः निर्माण सम्पन्न प्रमाण पत्रको आदान प्रदान
४-थर्मल्ली प्रोसेस्ड बफेल्लो मिट निर्यातसम्बन्धी प्रोटोकल
५- विकास योजनासम्बन्धी समझदारीपत्र
६-आर्थिक तथा प्रविधिक सहयोगसम्बन्धी समझदारी पत्र
७- नगर सहयोगसम्बन्धी पत्र आदान प्रदान
८- स्वयंसेवी चिनियाँ भाषा शिक्षासम्बन्धी समझदारी पत्र
९- नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्र

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार