२५ मंसिर २०८१, मंगलवार

एमालेको कारवाहीमा परेका पूर्वमन्त्री विराटनगरबाट पक्राउ




धनगढी/ विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा एमालेको कार्वाहीमा परेका लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ । उनलाई मानव तस्करीको आरोप लागेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको सो निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् । उनले अनुसन्धानमा सघाउने बताएका छन् ।

उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी कागजात किर्तेमा अनुसन्धान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार