३१ भाद्र २०८१, सोमबार

३० औं विश्व आदिवासी दिवस बेल्जियममा सम्पन्न



युरोप/ ३० औं विश्व आदिवासी दिवसको अवसरमा युरोपको बेल्जियममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको आयोजनामा शुक्रबार बेल्जियमको लुभेन शहरमा अन्तरक्रिया कार्यक्रम गरी दिवस सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले आदिवासी जनजातीको पहिचानलाई सुरक्षित गर्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघले सन १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरमा आदिवासी जनजातीले यो दिवस मनाउँदै आएको उनीहरुले बताए ।

नेपाली दुतावास बार्सिलोनाका प्रमुख एवम् विश्व आदिवासी दिवस कार्यक्रमका प्रमुख अतिथि रमेश गैरले राज्यले आदिवासी जनजातीको भाषा संस्कृतीको संरक्षण गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राईले भब्य र सभ्य रुपमा दिवस सम्पन्न भएको बताए । कार्यक्रममा सहभागी हुन आएका आदिवासीले आफ्नो मौलिक पहिचान झल्काउने पहिरन लगाएर आएको देख्दा आफूलाई निकै खुसी लागेको राईले बताए । विदेशको ठाउँमा पनि नेपालीले देशको पहिचान झल्काउने गरी कार्यक्रम गर्नु भनेको नेपाललाई विदेशमा चिनाउने काम भएको उनले बताए ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सिता सापकोटाले संयुक्त राष्ट्रसंघले आदिवासीको अधिकारको व्यवस्था गरेपनि त्यसको पक्षराष्ट्र भएको नेपालले आदिवासीको मागलाई पूरागर्न नसकेको बताईन् ।

कार्यक्रममा संघिय समाज बेल्जियमका नेत्र मगर, जनप्रगतिशिल मंचका महासचिव कल्पना मगर, प्रवासी नेपाली मंचका सुर्य श्रेष्ठ, मगर संघका भूतपुर्व अध्यक्ष मार्के मगरले शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी तमु समाजका भूतपुर्व अध्यक्षहरू क्रमशः ओमराज गुरूंङ, संगिता तमुस्यो, महासचिव कला इधिंगो, तमु समाजका निवर्तमान महासचिव सुर्य बहादुर गुरुङ, लोक राना, बदन योंगहांग र अनिता लामा लगायतले अधिकार सहितको पहिचानको पक्षमा बोल्दै शुभकामना मन्तव्य राखेका थिए ।

दिवस कार्यक्रमको सह–आयोजकमा विश्व मगर संघ बेल्जियम , तमु समाज बेल्जियम ,पाशापुच बेल्जियम, तामाङ समाज बेल्जियम, शेर्पा किदुक बेल्जियम, किराँत राई सोसाइटी बेल्जियम, किरात याक्थुम चुम्लुङ बेल्जियम र थकाली सेवा समिति रहेका थिए ।

दिवस कार्यक्रमका प्रायोजक नेत्र मगर, कल्पना मगर, लोक राना र बाल कुमार सुब्बा लगायतलाई आयोजक संस्थाहरुले आगामी दिनमा पनि यसरी नै सहयोगको अपेक्षा गर्दै धन्यवाद् व्यक्त गरेका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरको अध्यक्षतामा सम्पन्न भएको दिवस कार्यक्रमको संचालन रबिन राईले गरेका थिए भने स्वागत मन्तव्य सूर्य श्रेष्ठले राखेका थिए ।

आदिवासी बारे संयुक्त राष्ट्र महासंघको महासन्धी आईएलओ १६९ सरकारले पूर्णरुपमा पालना गर्नुपर्ने बताउँदै अध्यक्ष मगरले दिवस सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद् दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार