२४ बैशाख २०८१, सोमबार

रानी जमराको मूल नहरबाटै खेतमा पानी



टीकापुर/ राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिचाई आयोजना शुरु भएको बाह ्रवर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ । जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, प्रशाखा नहर हुदै जेठ ३२ गते दिउँसो किसानको खेतखेतमा पुगेको छ ।

विं.सं. २०६७/६८ देखि निर्माण शुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरेको थिया । यसपटक मूल नहरबाट पानी ल्याइ तीन वटै कुला प्रणालीमा ४५ क्यूमेक्स पानी पठाइएको आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले जानकारी दिए । यी प्रणालीबाट १४ हजार ३०० हेक्टर जमिनमा सिचाई हुन्छ । श्रेष्ठका अनुसार लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने छ जहाँबाट छ हजार हेक्टर जमिनमा सिचाई हुनेछ ।

यसअघि कर्णाली नदीबाट किसानको खेतमा पानी ल्याउन बनाइएको अस्थायी मुहानले वर्षेनी समस्या हुने गरेको थियो । कर्णालीमा बाढी बढेका बेला नदीबाट बाढी आएर खेत डुबाउथ्यो भने, बाढी घटेपछि कुलामा पानी सुकेर धानखेतीलाई पर्याप्त पानी पुग्दैनथ्यो । मूल नहरबाट पानी आएपछि किसानहरु ढुक्क भएका छन् ।

जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानवबहादुर चौधरी नहरबाटै पानी किसानको खेतमा पुगेपछि जोखिम घटेको र आनन्द बढेको बताउछन् । अब बाह्रै महिना नहरमा चाहे जति पानी ल्याउन सकिन्छ, बढी वर्षा भएको दिन नहरको ढोका बन्द गरी पानी कर्णालीमै बगाउने व्यवस्था भएकाले जोखिम घटने चौधरीको भनाई छ ।

कैलालीमा ३८ हजार ३०० हेक्टर जमिनमा सिचाई गर्ने उद्देश्यले शुरु भएको आयोजनाको पहिलो चरण (२०६७÷६८ देखि २०७४/७५) मा विश्व बैंकको लगानी १२ अर्ब ३७ करोड ७५ लाख रुपियाँ खर्च भैसकेको छ । दोस्रो चरण (२०७४÷७५ देखि २०८०/८१) मा १५ अर्ब ३२ करोड ४९ लाख रुपियाँ खर्च हुनेछ ।

२७ अर्ब ७० करोड २३ लाख रुपियाँ लागत रहेको आयोजनामा १७ अर्ब ५६ करोड ७२ लाख रुपियाँ नेपाल सरकार, नौ अर्ब ९५ करोड ५१ लाख रुपियाँ विश्व बैंकको ऋण र १८ करोड रुपियाँ उपभोक्ता समितिको लगानी भैरहेको छ । आयोजनामा हालसम्म १८ अर्ब रुपियाँ खर्च भैसकेको आयोजनाले जनाएको छ ।

रानी जमरा कुलरियाको १४ हजार ३०० हेक्टर सिचाई गर्न आठ हजार ८७५ मिटरको मूल नहर, दक्षिणतर्फको १०.६० किलोमिटर नहर निर्माण भैसकेको छ । लम्कीतर्फ छ हजार हेक्टर सिचाई गर्न १४.६५ किलोमिटर नहर बनिसकेको छ । दक्षिणी नहरमा ४.७१ मेगावाट विद्युत उत्पादन हुदैछ, कृषिको आधुनिकीकरण र कृषि सडक निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार