१० श्रावण २०८१, बिहीबार

कारागारका जेलरले खाए कैदीसँग एक लाख घुस



धनगढी/ कैलाली कारागारका जेलर पदमराज तिमल्सिनाले करिब १० वर्षदेखि कैद भुक्तान गरिरहेका देवेश गुप्तासँग एक लाख घुस खाएको आरोप लागेको छ।

जेठ १० गतेतिर राति लागुऔषध मुद्दामा जेल परेर कैलाली कारागारको चौकीदारसमेत रहेका गुप्तालाई जेलर तिमल्सिनाले बोलाएका थिए।

कारागारको विशेष स्रोतका अनुसार आउटडोर निरन्जन शाहीमार्फत जेलर तिमल्सिनाले गुप्तालाई बोलाएर तेरो सरुवा हुदैछ, रोक्नपर्ने भए दुई लाख दिनुपर्छ भनेका थिए। त्यसपछि त्यो डिलअनुसार आफ्ना म्यादी (सहयोगी) अनिल सिंहमार्फत गुप्ताले जेलरलाई एक लाख बुझाएका थिए। तर, सरुवा रोकिने आशले एक लाख बुझाएका गुप्ताकै ती जेलरले विरगन्ज सरुवा गरिदिएका छन्। जेलरले थप एक लाख घुस नपाउँदा उनको सरुवा भएको स्रोतको दाबी छ।

तर, जेलरले भने यो कुरा स्वीकार गरेनन्। उनले आफूले कैदीबाट कुनै रकम नलिएको दाबी गरे। उनले भने, ‘मैले रकम लिएको छैन। मैले कैदीबाट किन पैसा लिउँला र रु कैदीहरुले त जे पनि भनिदिन्छन्, तर त्यस्तो होइन। कानुनअनुरुप नै उनको सरुवा भएको हो।’

ती गुप्ता कैलाली कारागारमा व्यवसाय समेत गर्थे। उनले कारागारभित्र नेपाली टोपीको उद्योग, (पसल) ल्यान्डलाइन फोन सेवा र भान्सा चलाएका थिए। उनका आफन्तको दाबीअनुसार कारागारमा उनको करिव १० लाखको लगानी, सामानहरु र २२ लाख रकम कैदीबाट असुल गर्नुपर्ने छ। हिजोमात्रै उनका आफन्त सामान लिन जादा सामान हामीले किनेका हौं भनेर भूपेन्द्र बडुवाल हत्याकाण्डका कैदीहरुले धम्की दिदैं फिर्ता पठाएपछि फर्किएको बताइएको छ।

गुप्ताको विरगन्ज कारागार सरुवा भएपछि उनको पसल र सामानहरु पनि कब्जा गरिएको उनका आफन्तको गुनासो छ। जेलर बडुवाल हत्याकाण्डका कैदीसँग मिलेका कारण उनीहरुले भित्र क्यान्टिन चलाउने र भान्सेलाई क्याप्चर गरेको बताइन्छ। हालै जेठ २२ गते कारागारभित्रै कुटाकुट समेत भएको थियो।

त्यसपछि कारगारभित्र कुटपिटको घटनामा संलग्नमध्ये केहीलाई सरुवा गरिएको छ। तर कुटाकुटमा परेका पीडितलाई सरुवा गरेर पीडकलाई भने सरुवा नगरेको पनि जेल प्रशासनमाथि आरोप लागेको छ। त्यो घटनापछि अस्ती १६ जना सरुवा भएका थिए। गणेश भट्ट, पुष्प साउद, तोयनाथ बडू, खगेन्द्र बम, सुवाव चन्द, दिवेश गुप्तासहितका १६ जनालाई सरुवा गरिएको हो। कैलाली कारागार स्रोतका अनुसार बडुवाल हत्याकाण्डका अभियुक्तहरूसँगको मिलोमतोमा जेलर तिमल्सिनाले उनीहरूको सरुवा गरेका हुन्।

बडुवाल हत्या अभियोगमा पुर्पक्षका रहेका १६ जनाले जेलर तिमल्सिनालाई प्रभावमा पारेको आशंका गरिएको छ। तर, जेलर तिमल्सिना भने आफूमाथि लगाइएको आरोपहरु निराधार भएको दाबी गर्छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार