१७ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड जब पूर्व माओवादी नेताको घर पुगे…




धनगढी/ कञ्चनपुरमा आयोजित एक शैक्षिक कार्यक्रममा सहभागी हुन आज आइतबार काठमाडौंबाट धनगढी विमानस्थल उत्रिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अचानक पूर्व माओवादी नेता लेखराज भट्टको घर पुगेका छन् ।

धनगढी विमानस्थलबाट कञ्चनपुर जाने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पूर्व माओवादी नेता तथा हाल नेकपा एमालेका केन्द्रीय सचिव भट्टको घर पुगेका थिए ।

अदालतको आदेशपछि तत्कालीन नेकपा विघटन भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेता भट्ट एमालेमा समाहित भएका थिए । हाल उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन् । गत निर्वाचनमा नेकपा एमालेबाट कैलाली–४ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन भएका भट्ट पराजित भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले केही बेर भट्ट तथा उनका परिवारका अन्य सदस्यसँग कुराकानी गरेका थिए । भेटघाटपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग भने– यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ । यो घरमा मैले बस्ने गरेको एउटा कोठा छ । अहिले पनि मलाई यो मेरो पनि घर हो भन्ने लाग्छ । त्यसैले यहाँ आएको हुँ ।

प्रधानमन्त्री प्रचण्ड र नेता भट्टबीच के विषयमा छलफल भयो ? भन्ने उनले स्पष्ट बताएनन् । उनले नेता भट्टसँग मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे सामान्य छलफल भएको जानकारी दिए ।

दश वर्षे माओवादी जनयुद्धकाल र शान्ति प्रक्रियापछि नेता भट्ट माओवादी अध्यक्ष प्रचण्डको निकट मानिन्थे । कुनै वेला माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको “शक्तिशाली नेता” का रुपमा रहेका भट्ट एमालेमा लागेपछि अहिले एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका छन् ।

र, यो पनि हेर्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार