संविधानको रक्षा र देश विकासको लागि गठबन्धन आवश्यक : नेता साउँद
लम्की / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले संविधानको रक्षा र देशलाई विकासको बाटोमा डोर्याउन निर्वाचनमा अन्य दलसँग तालमेल गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
कैलालीको लम्कीमा आज जनताको साथमा काँंग्रेस अभियान सञ्चालन कार्यक्रममा बोल्दै उनले आम जनतालाई अन्य दलसँग तालमेल गर्नुको कारणबारे जनतामाझ विचार व्यक्त गर्न आग्रह गरे ।
मतदातालाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै मतदान गर्न अपिल गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न आग्रह गरे । उनले मंसिर ४ गते हुने निर्वाचनमा काँग्रेस र गठबन्धनका दललाई विजयी गराउन पनि आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नारयाणदत्त भट्टले आगामी चुनावमा गठबन्धन गर्न केन्द्रले निर्णय गरिसकेकाले दुविधामा नपरी पार्टीले गरेका राम्रा कामको बारेमा जनतामाझ लैजान जरुरी रहेको बताए ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीले पहिलो चरण अन्तरगतको अभियान थालेको छ ।