८ बैशाख २०८१, शनिबार

०४८ साल अघिको मजबुत काँग्रेस निर्माण लक्ष्य




पुष्पकुमार शाही (डोटी)
सुदूरपश्चिम प्रदेश सभापतिको दावेदार

सुदूरपश्चिम प्रदेश काँग्रेसको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने मध्ये सबैभन्दा कान्छा (४० वर्ष) पुष्पकुमार शाही पनि आफ्नो उम्मेदवारी स्वाभाविक रहेको दाबी गर्छन् ।

लामो समय नेपाल विद्यार्थी संघमा जिल्लादेखि केन्द्रसम्म जिम्मेवारी बहन गरेका शाहीले भने– म लगातार दुई पटक महाधिवेशन प्रतिनिधि भइसके । नेविसंघमा केन्द्रीय उपाध्यक्ष बनिसके । अब मैले पार्टीको केन्द्रीय सदस्य अथवा प्रदेश सभापतिमा लड्नु पर्छ भनेर साथीहरूसंग छलफल गरेर यो पदमा उम्मेदवारी घोषणा गरेको छु ।

उनले पछिल्ला वर्षहरूमा सुदूरपश्चिम प्रदेशमा काँग्रेस निकै कमजोर बनेको बताए । भने– आजका दिनमा प्रदेशका १६ संसदीय क्षेत्रमा एउटा मात्रै सिट काँग्रेसले जितेको अवस्था छ । पार्टीको अवस्था खस्किँदो छ । म सुदूरपश्चिममा काँग्रेसलाई २०४८ सालअघिको जस्तै बलियो पार्टीका रुपमा फर्काउन चाहन्छु ।

शाहीले पार्टीका आम कार्यकर्ताहरूको क्षमता, स्वाभिमान र क्रियाशीलतालाई मुल्यांकन गरेर क्षमता अनुरुपको जिम्मेवारी दिने प्रणालीको विकास गर्ने बताए ।

उनले आफ्नो योजना बुँदागत रुपमा प्रस्तुत गरे । भने– सुदृढ काँग्रेसले मात्रै लोकतन्त्र र राष्ट्रियता बलियो बनाउन सक्छ । अब हामीले प्रणालीको संस्थागत विकास साथै द्रुत गतिमा आर्थिक समृद्धिको अभियान पनि अघि बढाउनु पर्दछ ।

उनले नयाँ पुस्ताको जोसजाँगर र पुरानो पुस्ताको अनुभव र बलिदानलाई समायोजन गरेर पार्टीलाई अघि बढाउने बताए ।

०५१ सालमा स्कुले विद्यार्थी हुँदाखेरी नै नेविसंघ विद्यालय इकाईको अध्यक्ष बनेको बताउने शाही ०५७ सालमा कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापति उम्मेदवार, ०६२ सालमा कैलाली वहुमुखी क्याम्पसमा स्ववियू सभापतिको उम्मेदवार, ०६३ सालमा त्रिविवि इकाई उपाध्यक्ष, ०६४ सालमा नेविसंघको केन्द्रीय सदस्य र २०७३ सालमा संघको केन्द्रीय उपाध्यक्ष रहिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार