राजमोभित्रको किचलो : केन्द्रले भन्यो– पार्टीभित्र फुटपरस्त गतिविधि

धनगढी / राष्ट्रिय जनमोर्चा (राजमो) सुदूरपश्चिम प्रदेशमा दुई वटा कमिटी बनेसंगै बढेको विवाद अहिले एक पक्षले अर्को पक्षमाथि आरोपप्रत्यारोप, घातप्रतिघातको चरणमा आइपुगेको छ ।
विवादसंगै राजमोको समानान्तर कमिटि र केन्द्रिय कमिटिबीच टकराव बढेको छ । यसैबीच राजमो केन्द्रीय कार्यालयले प्रदेशमा लोकेन्द्र लम्सालको नेतृत्वमा गठन भएको प्रदेश कमिटि अवैध भएको र पार्टीभित्र फुटपरस्त गतिविधि बढेको उल्लेख गर्दै मंगलबार प्रेस वक्तव्य जारी गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चाको बेग्लै प्रदेश समितिको गठन गर्ने फुटपरस्त गतिविधिहरूप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ, केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ– बाहिरबाट हेर्दा त्यो गतिविधि नयाँ र आकस्मिक जस्तो देखिए पनि वास्तविकतामा यो हाम्रो पार्टीमा पहिलेदेखि नै अनुशासनबिहीन र फुटपरस्त विचारहरूको शृंखला हो ।
उपाध्यक्ष पौडेलले विज्ञप्तीमार्फत‘पार्टीमा मतभेद राख्ने इमान्दार र अनुशासित साथीहरूले सधै त्यही प्रकारको तरिका अपनाउने गर्नुभएको छ । तर, केही साथीहरूले पहिलेदेखि नै आफ्ना मतभेदहरूलाई अनुशासनविहीन वा गुटबन्दीका रुपमा अगाडि बढाउने र त्यसका आधारमा पार्टीमा फुट पार्ने प्रयत्न गर्दै आउनुभएकोे उल्लेख गरेकी छिन् ।
विज्ञप्तीमा भनिएको छ– सुदूरपश्चिम प्रदेशमा फुटपरस्त गतिविधिका सन्दर्भमा कतिपय अनलाइन वा पत्रपत्रिकाहरूले त्यो फुट नेकपा (माओवादी केन्द्र) मा मिल्न जानको लागि नै भएको भन्ने समाचारहरू पनि प्रकाशित गरेका छन् ।
निश्चय नै कतिपय सुत्रहरूबाट त्यस प्रकारका समाचारहरू आएका पनि छन् । त्यसबारे हाम्रो पार्टीमा छलफल पनि भएको थियो ।
त्यो छलफलपछि उनीहरू माओवादीमा जाने प्रकारका समाचारहरू आएको भए पनि त्यस प्रकारका समाचारहरूको आधिकारीक रुपमा पुष्टी भएको थिएन । त्यो अवस्थामा फुटपरस्त तत्वहरूमाथि त्यस प्रकारका आरोपहरू लगाउनु सही हुदैन भन्ने हाम्रो निष्कर्ष थियो ।
याे पनि पढाैं – राजमोमा विवाद चर्कियो : एकअर्कामाथि आरोपप्रत्यारोप बढ्यो




