१० श्रावण २०८१, बिहीबार

राजमोमा विवाद चर्कियो : एकअर्कामाथि आरोपप्रत्यारोप बढ्यो




धनगढी/ राष्ट्रिय जनमोर्चा (राजमो) को सुदूरपश्चिम प्रदेशमा दुई वटा प्रदेश कमिटी बनेपछि केन्द्र र प्रदेशबीच विवाद चर्किएको छ ।
पछिल्लो पटक भेलाबाट अर्को प्रदेश कमिटी गठन गरेको पक्षले केन्द्रीय कार्यालयले आफूहरूलाई धम्क्याउने काम भइरहेको आरोप लगाएका छन्।

हामीले पार्टीभित्र फरक मत राख्दै आएका थियौं । तर, पार्टी केन्द्रले कहिल्यै पनि हाम्रो फरक मतलाई सम्मान गरेन । त्यसैले हामीले पार्टीको विधान अनुसार नया कमिटी गठन गरेका हौं आइतबार राजमोको समानान्तर प्रदेश कमिटी आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष लोकेन्द्र लम्सालले भने– अहिले हामीहरू तथा पार्टीका कार्यकर्तालाई केन्द्रिय महासचिव लगायतका नेताहरूबाट धम्की तथा प्रलोभनमा पार्ने प्रयास भइरहेको छ ।

प्रदेश कमिटी सचिव लछीराम आचार्यले प्रदेश कमिटीका विषयमा पार्टीकै निर्देशनमा भ्रामक समाचार फैलाउने, गलत प्रचार–प्रसार गर्ने गतिविधी भइरहेको आरोप लगाए । सचिव आचार्यका अनुसार पार्टीको निकट मानिएको युगदर्शन नामक अनलाइनले शनिबार लम्साल नेतृत्वको प्रदेश कमिटीबारे भ्रामक समाचार प्रकाशन गरेको थियो ।

पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्ती बाचन गर्दै प्रदेश कोषाध्यक्ष केशवनाथ योगीले भने– युगदर्शन अनलाइनमा प्रकाशित मिथ्या समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो अनलाईन पत्रिकाको समाचारमा माओवादी केन्द्रका नेता बीना मगर तथा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसंगको भेटमा पदको बार्गेनिङ गरेको भनेर उल्लेख छ । यस्तो मिथ्या समाचार संप्रेषण गरेको प्रति घोर निन्दा तथा आपत्ती प्रकट गर्दछौं ।

राजमोका प्रदेश अध्यक्ष लम्सालले लामो समयदेखि पार्टीभित्र गलत राजनीति, दक्षिणपन्थी अवसरवाद, व्यक्तिवादी प्राधिकारवाद, जडसुत्रवाद, संसदवाद र नोकरशाही प्रवृति जारी रहेको बताए । उनले यस्ता प्रवृतिविरुद्ध आफूहरूले निरन्तर संघर्ष गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार