१६ चैत्र २०८०, शुक्रबार

नेपालको उदाउँदो राज्य ब्यबस्था र कोरोना कहर



नेपालको राज्य ब्यबस्था, राजनीति र कोरोना एकअर्कोमा अन्तरसम्बन्धित छन् । विभिन्न आन्दोलन र जनताको बलिदानबाट प्राप्त लोकतन्त्र र मानवीय जीवन अहिले संकटमा परेको छ । राजनीतिक मुल्य मान्यता र संस्कृति बिलीन हुदै गएको छ । राज्यको दायित्व र भूमिका पनि अस्ताउनु लागेको घाम जस्तो हुदैछ ।

हुन त मानवको जन्म र मृत्यु शाश्वत सत्य हुन, तर पनि राज्य ब्यबस्था र राजनीतिक कुसंस्कारको कारण यतिबेला नेपाली नागरिकको निरीह रूपमा ज्यान गइरहेको छ । यसरी मानवीय ज्यान जानू भनेको राज्यद्वारा नागरिकको हत्या गरिनु हो । किनभने राज्य आपतविपत र नागरिकको धनजनको सुरक्षाका लागि निर्माण गरिएको संरचना हो । तर, हाम्रो देशको सरकार ज्यान मार्ने कुरामा उद्दत भएको देखिन्छ । जहा“ जनधनको सुरक्षा र नागरिकले सुरक्षा महुसुस गर्दैनन्, त्यो राज्यमा राजनीतिले जनमत माग्ने नैतिकता हुदैन । राज्य राजनीतिद्वारा संचालित हुन्छ । कुसंस्कारको राजनीति र मिथ्या भाषणले राजनीति र राज्यको प्रतिनिधित्व गर्दैन ।

अहिले तमाम नेपाली कोही भारत र अन्य मुलुकमा छटपटाउदै छन् । देशभित्र नागरिकहरू जसले यी नेताहरूलाई मत दिएर सत्तामा पु¥याए, तिनै जनता आज रोग र भोकले मर्न बाध्य छन् । सिटामोल नपाएर ज्यान गएको अवस्था छ । दैनिक दुई जना बढीको ज्यान गईरहेको छ, तर सरकार मौन छ । सत्तामै मग्न छ । नेपालका प्रधानमन्त्री उखानटुक्का भन्नमै ब्यस्त हुनुहुन्छ । कहिले गुर्जो खानु, कहिले अम्बाको पात खानु, हाच्छ्यु गरेर कोरोना उडाउनु भन्ने जस्ता गैरजिम्मेवारपुर्ण उखानटुक्के अभिव्यक्ति दिएर जनताको हत्या गरिरहेका छन् ।

राज्यका सयन्त्रको दुरुपयोग गरिरहेका छन् । राजनीतिक संस्कार कुल्चिने क्रम जारी छ । प्रधानमन्त्रीज्यु तपाईले जनताको लागि के के काम गर्नु भो ? डिजिटल नेपाल, धरहरा, मेलम्ची र मठमन्दिर, अयोध्यापुरी निर्माण र कालोपत्रे सडकको फुई लगाउनु हुन्छ । यो मात्रै विकाश होइन, विकास त्यो हो जहा“ मानवीय सुरक्षा, मानवीय संवेदना र नागरिकको स्वास्थ्यको जोखिमतालाई कम गर्ने काम हुन्छ । प्रतिब्यक्ति आय बढ्छ । मानव विकास सूचकांक कहाँ छ ? कसले खान पाएको छ ? कुन नागरिक भोको छ ? कसले उपचार पायो, कसले पाएन ? यो हेर्ने काम राज्य र सरकार हो । उर्जावान युवा खाडीमा रगत र पसिना बगाइरहेका छन्् । ज्येष्ठ नागरिक, अशक्त, असहाय, सिमान्तकृत वर्ग, अपांगता भएका नागरिक जसले सकिनसकी मतदान केन्द्रमा गएर मतदान गरे त्यसको परिणाम आज के सुविधा पाए ? औषधी उपचार, अक्सिजन, भेज्टिलेटर र वेड नपाएर अकालमा ज्यान गुमाउनु परिरहेको छ । कैयोंका बाबुनानीहरू टुहुरा भएका छन् । कैयौं चेलीको सिंदुर पुछिएको छ । कैयौं पुरुषलाई जीवन संगीनी गुमाउनु परेको पीडा छ । यो चीत्कार, असह्य पीडा, नाबालकहरूको क्रन्दन, लासमाथि रमाइरहेको छ, मेरो सरकार ।

अहिले भौतिक विकाश निर्माण पहिलो प्राथमिकता हँुदै होइन । अहिलेको प्राथमिकता भनेको मानव जीवन जोगाउन हो, तर सरकार सडक, झोलुंगे पुल, खेल मैदान, धरहरा, पाटीपौवा, चौतारो निर्माणमा ब्यस्त छ । किनभने त्यहाँ कमिसन छ । मानवीय जीवन रक्षा गर्दा कमिशनको माईलेज कम हुन्छ । कम माइलेज भएको काम किन गर्ने ? बरु जति मरे पनि मरुन्, “सडेको आँप हुन झर्न दिने रे” । खोप र अक्सिजन खरिद गर्न कमिशन माईलेज मिलिरहेको छैन । देशको विकास र नागरिकको रक्षा त कता हो कता लोकतान्त्रिक गणतन्त्र नेपालको अस्तित्व समाप्त गरि आफ्नो घरमै आगो लगाएर भस्मासुरको हुँकार दिन मगनमस्त सरकारले के सुरक्षा दिन्छ ? कहिले भुकम्पको नाममा भ्रस्टाचार, कहिले पुनर्निर्माणको नाममा त कहिले बाढीपहिरो त कहिले आगलागी, ह्वाट बडी, बालुवाटार, एन्सेल काण्डहरूको चाङ लागेको छ । अहिले खोप र औषधीमा समेत कमिशन र भ्रष्टाचार गर्नु भनेको गरिब निमुखा नागरिकको रगत चुस्नु हो । मान्छेको धमाधम मृत्यु भईरहेको छ । अस्पतालका बेड, खोप, औषधीको अभाव छ, मसानघाटमा मान्छेको लाश जलाउने ठाउँको कमी भइरहेको छ । लासमाथिको राजनीति गर्दै शवमा पार्टीको झण्डा ओढाउँछन््, र एक होनहार कुशल कार्यकर्ता गुमाएको भनेर झुठा सहानुभूति दर्साउँछन्् । खै यिनको नैतिकता ? बाचुन्जेल एक ट्याब्लेट सिटामोलको व्यवस्था नगर्ने, मरेपछि झण्डा ओढाएर लासमाथि राजनीतिक गर्ने ? कठै, नेपाल आमाका सन्तानहरू !

हामीले सरकार संचालन गर्ने जिम्मेवारी कस्तो ब्यक्तिलाई दियौं ? महत्वपूर्ण विषय छ । राजनीतिक संस्कार, ईमान र नैतिकता गुमाएका ब्यक्तिको हातमा देश सञ्चालनको जिम्मेवारी दिनु भनेको “बाँदरको हातमा नरिबल” जस्तै हो । अहिले हामीले त्यहीँ नियति भोगिरहेका छौ । अहिलेको कोभिड– १९ को कहालीलाग्दो कहरले राजा र राणाको ईतिहासको प्रसंग आउँछ । राणा र राजाले वीर अस्पताल, सरुवा रोग अस्पताल, सिंहदरबार, बिमानस्थल, सैन्य अखडा, भौतिक संरचना र यन्त्रउपकरणको ब्यबस्था नगरेको भए अहिलेका छोटे राजाहरू कहाँ बस्थे ? २०४७ यता के संरचना बने ? जनताले के सुविधा पाए ? नेताहरू धनी भए । नेताहरूका छोराछोरी विदेश पढ्न गए । आलिशान महल बनाए, विदेशी बैंकमा अकुत सम्पत्ति जम्मा गरे । पजेरो र प्राडो चढे, तर निमुखा जनताले करको नाममा नोट र भरभरोसाको नाममा भोट दिए । नेपालको स्वास्थ्य क्षेत्र बिजोग छ । शिक्षा र स्वास्थ्य जस्ता मानवीय जीवनसंग प्रत्यक्ष सरोकार राख्ने आधारभूत आवश्यकतालाई राष्ट्रियकरण गर्नु पर्छ भनी समाजिक अभियन्ता डाक्टर गोेविन्द केसीले आमरण अनशन बस्दा उहाँलाई सरकार विरोधीको आरोप लगाइयो । अहिले विश्वव्यापी महामारी फैलिएपछि थाहा भयोे हाम्रा संरचनाहरू त केवल (स्केलेटल सिस्टम) को पुन्ज मात्र रहेछ । भित्र खोक्लो, बाहिर बोक्रा सहितको गुदी त सब खाइसकेका रहेछन्् । अनि कसरी जोगिन्छ मानव जीवन ? यस्तो राज्य ब्यबस्था र सरकारले केवल संसदीय अंकगणित जोडघटाउ गर्दै आफ्ना निजि स्वार्थ पुरा गरेर देश र जनताको रगत पसिना चुसेर जुका जस्तै टन्किएका छन् । अहिलेको यो महामारीले देखाइदियो हाम्रो विकास, राष्ट्रिय संरचना, इमान र नैतिकताको राजनीति ।

यो कहालिलाग्दो अवस्थामा नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुबाको ज्यान जोगाउन सबै युवा शक्ति, नागरिक समाज र सबै तहतप्काबाट सक्दो प्रयास गरौं । पशुपतिनाथले हामी सबैको रक्षा गरुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार