१४ बैशाख २०८१, शुक्रबार

आकस्मिक प्रसुति सेवा सञ्चालन



बाजुरा । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्दमा आकस्मिक प्रसुुति सेवा सञ्चालनमा आएको छ । पहिलो दिन शुक्रवार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मुगुकी २९ वार्षिय निर्मला चदाराको सफल शल्यक्रिया गरी प्रसुती गराइएको छ ।

शुक्रवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाल रोग विशेषज्ञ डाक्टर नम्रता सिन्धान, एनेसथेसिष्ट डाक्टर अर्जुन प्रसाद तिवारी, स्त्री तथा प्रसुतीमा विशेषज्ञ डाक्टर दिशाही रोका, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका स्वास्थ्यकर्मीहरूले मुगुकी चदाराको शल्यक्रिया गरेका थिए ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानका निर्देशक डा. मंगल रावलले कोल्टीमा प्रसुती सेवा निरन्तरता दिन कर्णाली प्रतिष्ठान प्रतिबद्ध रहेको बताए ।

आकस्मिक प्रसुती सेवा नहुँदा बाजुराका चार, हुम्ला, कालीकोट, मुगुका पाँच वटा गरी नौ वटा स्थानीय तहका महिलाहरू प्रसुती सेवाबाट बञ्चित थिए ।

कोल्टीमा प्रसुती सेवा सञ्चालनमा आएपछि चार जिल्लाका नौ वटा स्थानीय तहका महिलाहरूले प्रसुती सेवा लिनकै लागि नेपालगन्ज र मार्तडी जानु पर्ने अवस्थाको अन्त्य भएको बुढीनन्दा नगरपालिकाकी उपमेयर श्रृष्टि रेग्मीले बताइन् ।

यो हाम्रा लागि अत्यन्त खुशीको कुरा हो, उनले भनिन्, अव कुनै महिलाले समयमै प्रसुती सेवा नपाएर मृत्यु वरण गर्नुपर्ने छैन । बिगतमा प्रसुती सेवा लिन नेपालगञ्ज तथा जिल्लाबाट अन्यन्त्र रेफर गरेका गर्भवती महिलाहरूलाई बुढीनन्दा नगरपालिकाले २० हजार रुपैया सहयोग गर्ने गरेको थियो ।

जटिल समस्या भएका महिलाहरूलाई आकस्मिक अवस्थामा राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत पनि उद्धार गर्ने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार