५ श्रावण २०८१, शनिबार

लैङ्गिक मूल्य मान्यता र स्याहार कार्यमा पुरुष सहभागिता





१. विषय प्रवेश
लैङ्गिकता एक सामाजिक दृष्टिकोण हो यस दृष्टिकोणले नारिवादी वा पुरुषवादी सोचको प्रतिनिधित्व गर्दैन । यसले महिला र पुरुष दुवैको समान भूमिका, सहभागिता, स्रोतमा पहुँच, निर्णय र सामाजिक, सांस्कृतिक एवं राजनीतिक जीवनमा क्रियाशीलताको वकालत गर्छ । विकासको गति र विकासक्रम अनुरूप नै लैङ्गिकता विकासमा समान सहभागिता, महिला र विकास एवं लैङ्गिक र विकासका रूपमा अघि बढाइएको हो ।

नेपालका सन्दर्भमा नेपालको संविधानको २०७२ को प्रस्तावनामै आर्थिक समानता, समृद्धि, सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण सहित लैङ्गिक विभेदको अन्त्य गर्ने कुरा समेटिएको छ ।

लैङ्गिकताले महिला, पुरुष र तेस्रो लिंगीका सवालहरु समेत समेटने भएता पनि नेपालको सन्र्दभमा स्थापित गरिएका लैंगिक मूल्य मान्यता र लिंगीय विभेदले पुरुषको तुलनामा महिलाहरुलाई बढीमात्रामा गाँजेको हुनाले लैंगीक सवाल र महिलाका सवालहरुलाई पर्यायवाचीरुपमा समेत हेर्ने गरिन्छ ।

नेपालले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मूलन गर्ने सम्बन्धी महासन्धि अनुमोदन गरेको छ । यद्यपी व्यवहार र प्रवृत्तिमा महिलाप्रति सकारात्मक दृष्टिकोण अझै विकास हुन सकेको छैन । महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई प्रोत्साहन गर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि सामाजिक मूल्य मान्यता, संस्कार र संरचना एवं संकिर्ण सोचाइका कारण उल्लेखनिय रुपमा गुणात्मक सुधार हुन सकेको छैन ।

यसर्थ, घर परिवार, सामाज र राष्ट्रको शान्ति, समृद्धि, विकास र सुशासनको आकांक्षा पूरा गर्न, आर्थिक, सामाजिक, न्यायीक, राजनीतिक, शैक्षिक एवं व्यक्तिका व्यक्तिगत व्यवहारिक गतिविधिहरूलाई समेत लैङ्गिक भूमिकाबाट विश्लेषण गरिनु जरुरी छ ।

२. विद्यमान लैङ्गिक मूल्य मान्यता, महिलाहरुको कार्यवोझ र स्याहार कार्यमा पुरुष सहभागिताको वर्तमान अवस्था
मूलतः लैङ्गिक विषय कुनै पनि मुलुकको सामाजिक व्यवहार, चालचलन, रीतिरिवाज र कानूनले स्थापित गरेको मान्यता हो ।

यस्तो मूल्य मान्यता सामाजको लामो समयको अनुभव, भोगाई वा परिणतिको आधारमा निर्माण हुने गर्दछन् भने सो मुल्यमान्यता सामाजिक विकासक्रमसंगै स्वतः परिमार्जन हुदै जान्छन ।


यसको मतलव यो होइन कि सामाजिक विकासक्रमसंगै मूल्य मान्यताहरु स्वत परिमार्जन हुन्छन र त्यसमा तपाई हाम्रो कुनै पनि दायित्व रहदैन । विद्यमान हाम्रो सामाजिक मूल्य मान्यताले समाजमा महिला र पुरुषको सामाजिक, साँस्कृतिक भूमिकालाई कित्ताकाट गरिदिएको हुन्छ ।

समयक्रमानुसार समाजलाई नियाल्ने हो भने नेपाली समाजमा महिला वा पुरुष कसरी हुर्किरहेका छन् त ? महिला र पुरुषकालाागि समाजले एउटा छुट्टै परिधि तोकिदिएको छ ।

महिला वा पुरुषले यसो मात्र गर्न पाउने, गर्न हुने र यसो चाहिँ गर्न नहुने र नपाउने भन्ने खालका ती परिधि वा मूल्य मान्यताहरु कसले खडा गरिदिए त ? के ति परिधिहरु समय सापेक्ष छन वा परिमार्जनको आवश्यक्तता रहेको छ ? छलफल गर्न जरुरी छ ।

हालै हामीसंग रहेको बुढो पुस्ताको हजुरआमासंग भलाकुुसारी गर्ने मौका मिल्यो, उहाँको घरको कौसिमा बसेर गफीदा तल सडकमा संगै हिडीरहेका एक जोडी श्रीमान श्रीमतीलाई इंगीत गदै उहाँले भन्नुभयो ‘ऊ ! अचेलका जोइपोइ हलगोरु जस्तै नारिएर हिँड्छन् । उहिले उहिले माइत जाँदा मैले कि अघिअगि हिड्नुपर्दथ्यो, कि पछिपछि हिड्थे । काँ सँगै हिन्न पाइन्थ्यो र !’

हिँडाइमा देखिएको त्यो अन्तर, त्यो दूरी हजुरआमा र हजुरबाको सम्बन्धको दूरी थिएन । त्यो त समाजले महिला र पुरुषबीच निर्माण गरेको अन्तर थियो । महिला भनेको पुरुषको पछिपछि मात्रै हिँड्नुपर्छ, न कि सँगसँगै भनेर स्थापित एउटा मान्यता थियो ।

त्यस्ता थुप्रै मान्यताहरु हाम्रो स्वभावमा पनि लादिँदै ल्याइयो र अन्ततः महिला भनेको सहनशील, धीर, कोमल, लजालु, परिश्रमी, कुशल गृहणी, सुन्दरी, विस्वाशिली घरमा केटाकेटी तथा बुढा पाखाको सेवा गर्ने हुनुपर्छ तर पुरुष भने सुरो, वीर, बलियो, निडर, संघर्षशिल, सहि नेतृत्व दिन सक्ने, शिक्षित, धैर्यवान पैसा कमाउने हुनुपर्छ भन्दै त्यसैमा अभ्यस्त गराउँदै महिला र पुरुषलाई हुर्काइयो ।

यसको अलावा धार्मिक कर्म तथा अनुष्ठान कार्यमा हुने विभेद, शिक्षा दिक्षामा हुने विभेद, व्यक्तीगत स्वतन्त्रतामा हुने विभेद सहितको हुर्काइ तपाईँ हाम्रो चेतन दिमागमै यसरी जड भएर बस्यो कि यसको जरो काट्नै अझ संघर्ष गरिरहनु परेको छ ।

सामाजिक मूल्य मान्यताका कारण तुलनात्मक रुपमा महिला वर्ग बढी प्रभावित भएको भए तापनि यसबाट पुरुष वर्ग पनि अछुतो रहन भने सकेको छैन । हामीसंग कतिपय यस्ता मान्यताहरु पनि छन जस्तो घर को सम्पुर्ण जिम्मेबारी (आय आर्जन का कुराहरु) पुरुषले लिनै पर्ने, महिला साथीको कमाई मा जिवन निर्वाह गर्दा जोईटिंग्रे वा हुतिहाराको दर्जा पाउने आदि सामाजिक मूल्य मान्यताको दवावमा परेर कर्यौ पुरुषहरु आत्महत्या गर्ने, पैसाकै लोभमा खाडी मुलुक धाउने र बाकसमा फिर्ता हुने विडम्बना रहेको छ ।

हाम्रो अनुभव र अध्ययनले लैङ्गिक चेत फराकिलो हुँदै गएको भए पनि लैँङ्गिक समानता तपाई हाम्रो घरघरमा र मनमनमा आइसकेकै हो त ? विभिन्न गोष्ठी, सेमिनार लगायत नजिकैको चिया पसलमा समेत लैङ्गिक समानताको कुरा चर्कै आवाजमा गरिरहने तपाई हामी आफ्नो घरको भान्सामा, केटा केटीको स्याहारमा, जेष्ठ नागरिकहरुको सरसफाई तथा संरक्षणमा, दैनिक कामकाजमा आफू र आफ्नो परिवारवीच कत्तिको लैंगीक समानता लागु गरेका छौ ? विचारणीय र छलफलको विषयबस्तु रहेको छ ।

३. विद्यमान लैंगिक मूल्य मान्यता, महिलाहरुको कार्यबोझ र स्याहार कार्यमा पुरुष सहभागिताको वर्तमान अवस्थाले लैंगिक समानतामा पारेको असर
लैङ्गिक समानतामा सुधार आउन नसक्नुका कारणहरू विश्लेषण गर्दा महिला र पुरुषबीचमा समाजले निर्धारण गरेका लैङ्गिकतामा आधारित कार्यविभाजन तथा जिम्मेवारीहरूले निकै गहिरो असमान रेखा कोरेको छ र सोही बमोजिम महिला र पुरुषको मानसिकता, चाहना, आवश्यकता र दायित्व पनि भिन्दा–भिन्दै विकास भएर गएको छ ।

यही मानसिकता, पुरुषप्रधान सोच, समाज र संस्कृतिका कारण अझैपनि खासगरी विवाहित महिलाहरुको प्रमुख दायित्व घर–व्यवस्थापन, वाल–वच्चा, बृद्ध–बृद्धा, अपाङ्ग र अशक्तहरुको हेरचाह र सामुदायिक भूमिका नैे हुने गरेको छ र चाहेर नचाहेर त्यो दायित्व निर्वाह गर्नैपर्ने बाध्यकारी परिस्थिति, अत्याधिक कार्यबोझ तथा पर्याप्त समयाभावका कारण उनीहरुले आफ्नो क्षमता तथा व्यक्तित्व विकास गर्ने अवसर चाहेर पनि गर्न नपाएको पीडादायी अवस्था रहेको छ ।

आर्थिक तथा सामाजिकरुपले सक्रिय हुनसक्ने समय, व्यक्तित्व विकास र अनुभव हासिल गर्ने उर्वर उमेर तथा उत्साह महिलाहरुले यस्ता अनुत्पादक तथा व्यक्तिगत रुपले उपलब्धि शुन्य कामहरुमा खर्च गर्नुपरेका कारण महिलाको व्यक्तित्व विकासको गति अकस्मात रोक्किन पुदग्छ ।

जसले महिला लगायत परिवार, समाज र राज्यकै समग्र विकासमा नकारात्मक प्रभाव पारिेरहेको छ । भने पुरुष जिम्मेवारीको हकमा आर्थिक उपार्जनका कार्य बाहेक घरायसी काममा कम जिम्मेवारी निर्वाह गरिरहेको यर्थाथता रहेको छ । महिला र पुरुषको व्यवहारिक जिम्मेवारीमा देखिएको यो असमानताले घर वाहिर रहने कामकाजी महिलाहरुमा थप दोहरो जिम्मेवारिको बोझ थपिएको छ ।


सन्तुलित र समन्यायिक विकासको आधार लैङ्गिक विकास भएकाले नीतिगत, कानुनी, संस्थागत, मनोगत र व्यवहारगत पक्षमा सुधार गर्दै लैङ्गिक समानताका लागि आवाज मुखर पार्नु अहिलेको आवश्यकता हो ।

तर लैङ्गिक समानताका लागी विद्यमान लैङ्गिक मुल्य मान्यता, स्याहार र संरक्षण कार्य को क्षेत्रमा व्यवहारिक परिवर्तनको आवश्यक्ता रहेको छ । मुख्यतया यस क्षेत्रका समस्या निम्नलिखित छन ।

(क) सामाजिक–सांस्कृतिक समस्या ः अशिक्षा, हानिकारक अभ्यास, परम्परागत मूल्यमान्यता, प्रथा, परम्परा, घरेलु, यौनजन्य र लैङ्गिकतामा आधारित हिंसा ।
(ख) परनिर्भरता ः जीवननिर्वाहका लागि परिवारका सदस्यमा भर पर्नुपर्ने अवस्था ।
(ग) मनोवैज्ञानिक अवस्था ः आर्थिक पहुँच, सचेतनाको स्तर अनुरूप आफू र आफ्नो क्षमताप्रति गर्व गर्न सक्ने र नसक्ने अवस्था ।
(घ) पहुँच, निर्णय र गतिशीलता ः साधनस्रोतमा पहुँच, सार्थक सहभागिता र निर्णय क्षमता एवं सामाजिक गतिशीलताको स्तर ।
(ङ) अन्यः निर्णायक भूमिकामा पछि पार्नु, सारभूत सहभागिता प्रवर्धन गर्न नसक्नु र महिलाको क्षमतालाई पूर्ण कदर नगरिनु ।

४. लैङ्गिक मूल्य मान्यता र स्याहार कार्यमा पुरुष सहभागिता बढाउनका लागी स्थानीय सरकारको भुमिका
स्थानीय जनताको प्रतिनिधित्व गरेर बैधानिकता प्राप्त स्थानीय जनप्रतिनिधीहरुबाट सञ्चालित सरकार नै स्थानीय सरकार तथा शासन हो । यो लोकतन्त्रको स्थानीयकरण मार्फत जनमैत्री शासन कायम गर्ने महत्वपूर्ण शासकीय मूल्य हो ।

स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । यो जनताको अधिकतम निकट रहेर काम गर्ने गररे तयार गरीएको लोकतान्त्रीक व्यवस्थापन हो । जनताको निकट हुनुको नाताले यो जनताका जनजिविकाका सवालमा र सामाजिक मूल्य मान्यतको स्थानियकरणसंग वढी जानकार रहन्छ भन्ने मान्यता हुन्छ र यसै मान्यता अनुरुप जनताले आफ्नो शासकीय अभिभावकको रुपमा स्थानीय सरकारलाई लिएका हुन्छन ।

स्थानीय सरकारले विद्यमान सामाजिक मूल्य मान्यतालाई स्थानिय स्तरमा नै प्रवद्र्धन वा निरुत्साहीत गर्नुपर्ने पक्षलाई विश्लेषण गरि विभिन्न कार्यक्रमहरु मार्फत सम्बोधन गर्न सक्ने भएकाले यस्ता सामाजिक पक्षमा स्थानिय सरकारको संलग्नता महत्वपूर्ण मानिएको छ ।

अझै यस कार्यमा स्थानिय सरकारका वडा कार्यालयहरुको भुमिका अझ प्रभावकारी हुन सक्छ । स्थानीय तहको वडा सरकार जनताको बढी सामिप्तामा हुने भएकाले गाउँ टोलमा अवलम्वन गरिएका सामाजिक मुल्य मान्यताबारे जानकार हुने, असल लैङ्गिक मान्यता जोगाउन र खरावलाई हटाउनको लागी र स्याहार कार्यमा पुरुष सहभागिता बढाउनको लागि विभिन्न संघ–संस्थाहरुसंग सहकार्य गर्ने, योजना छनौटका चरणमा नै विभिन्न चेतनामुलक कार्यक्रमहरुका लागि बजेको माग गर्ने, समुदायमा रहेका आमा समुह, किशोर किशोरी समुह, बाल क्लव, सामुदायिक वन उपभोक्ता समिति, नगर, टोल समुह, कृषि समुह आदिलाई सक्रिय बनाई सामाजिक व्यवहार परिर्वनका पक्षमा वकालत गर्न प्रेरित गर्न सक्ने भएकाले स्थानिय सरकार (वडा तह) को अहंम भूमिका रहेको छ ।


५. अन्तमा
लैङ्गिक मूलप्रवाहीकरणका लागि तीनै तहका सरकारले क्षेत्रगत नीति, कानुन र कार्यक्रम तर्जुमा गर्नुपर्छ । लैङ्गिक हिसाबले संवेदनशील सार्वजनिक निकाय, लैङ्गिक आचारसंहिता, लैङ्गिक सम्पर्कविन्दु एवं लैङ्गिक बजेटमार्फत राज्यका सबै तहमा लैङ्गिक विकासलाई संस्थागत गर्नुपर्छ । पछि परेका वा पारिएकाहरूलाई आर्थिक, सामाजिक एवं राजनीतिक सशक्तीकरण गर्नुपर्छ ।

सामाजमा रहेका विद्यमान लैङ्गिक मुल्य मान्यताको विश्लेषण गरेर असल मान्यताहरुलाई व्यक्तीगत र व्यवहारिक रुपमा प्रवद्र्धन र खराव हानिकारक मान्यताहरुलाई निरुत्साहित गर्नुपर्छ । साधनस्रोतमा पहुँच, सारभूत सहभागिता र निर्णयमा गतिशीलता कायम गर्नुपर्छ । लैङ्गिक विभेदको समूल अन्त्य गर्न मूल कारणमा लगानी एवं निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक पद्धतिको विकास गर्नुपर्छ ।

(फाया नेपालमा कार्यरत महराले लैङ्गिक मुल्य मान्यता र स्याहार कार्यमा पुरुष सहभागिता सम्बन्धमा बुधबार धनगढीमा आयोजित अन्तक्रियामा प्रस्तुत गरेको आधारपत्र समयानुकुल ठानेर प्रकाशित गरिएको हो– सम्पादक)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार