६ चैत्र २०८०, मंगलवार

बालबालिकालाई भिटामिन ए खुवाइयो



दार्चुला । राष्ट्रिय भिटामीन ‘ए’ कार्यक्रम अन्तर्गत दार्चुलाका १३ हजार बढी बालबालिकालाई भिटामीन ‘ए’ क्याप्सुल खुवाइएको छ ।

त्यस्तै ११ हजार ५४३ जना बालबालिकालाई जुकाको औषधि खुवाइएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए ।

छ महिनादेखि पाँच वर्ष ११ महिनासम्मका बालबालिकाहरुलाई भिटामीन ‘ए’ र १२ महिनादेखि पाँच वर्ष ११ महिनासम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइएको जनस्वास्थ्य अधिकृत भट्टले बताए ।

बिहीबार र शुक्रबार दुई दिन बालबालिकाहरुलाई देशभरी भिटामीन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइएको छ । यसका लागि दार्चुलामा ३७२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएका थिए । प्रत्येक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु समेत परिचालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

सरकारले कोराना भाइरसको सङ्क्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल नखुवाउन आग्रह गरेको थियो । तर त्यस्तो समस्या नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप भने नलिइएको जनस्वास्थ्य अधिकृत भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार