१३ बैशाख २०८१, बिहीबार

प्रदेशस्तरीय स्वास्थ्य सेवाबारे समिक्षा



धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा बिहिबारदेखि धनगढीमा प्रदेशको स्वास्थ्य सम्बन्धी समीक्षा गोष्ठी शुरु भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशमा रहेका स्वास्थ्य निकायहरूबाट सम्पादित कार्यक्रमहरू एवम् कोभिड–१९ सम्बन्धी एकीकृत प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी शुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने गोष्ठी उद्घाटन सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रघुराम विष्टले गरेका थिए ।
सो क्रममा उनले कोभिड–१९ रोकथामको क्रममा प्रदेशमा स्वास्थ्यकर्मीहरूले खेलेको भूमिका सह्र्रानीय रहेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । उनले विगत केही वर्षयता सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवाको विस्तार तिब्रगतिमा भएको समेत बताए ।
उद्घाटन कार्यक्रममा बरिष्ठ फिजिसियन डा. सुभेशराज कायस्थले सुदूरपश्चिममा एक वर्षमै डाक्टरहरू गाउँ गाउँका अस्पताल र स्वास्थ्य चौकीमा भेटिन थालेको बताउँदै प्रदेशमा स्वास्थ्य सेवाको स्तरले फड्को मारेको बताए । यसमा यहाँका स्वास्थ्यकर्मीहरूको लगनशीलता नै प्रमुख कारण रहेको बताउँदै उनले यसलाई अझै सुधार गरी गुणस्तरीय बनाउनुपर्ने बताए ।
प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेशका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्थानीय तहका स्वास्थ्य शाखा र आयुर्वेदिक स्वास्थ्य केन्द्रहरूका प्रतिनिधिहरूको सहभागिता छ ।
कार्यक्रममा गतआर्थिक वर्षमा गरिएका कार्यक्रम र कोभिड–१९ रोकथामका लागि गरिएको गतिविधिको समीक्षा गर्दै चालु आर्थिक वर्षका कार्यक्रमहरू कार्यान्वयनका लागि कार्ययोजना निर्माण गरिने स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत मीनराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार