५ जेष्ठ २०८१, शनिबार

छ महिनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्



डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका नौ जना स्वास्थ्यकर्मीले छ महिनाको तलब पाउन सकेका छैनन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुले तलब नपाएको एक स्वास्थ्यकर्मीले बताए । उनीहरुलाई वडा कार्यालयहरुले एक बर्षका लागि करारमा राखेको बताइएको छ ।

स्वास्थ्यकर्मीहरुले तीन हजार रुपैया जोखिम भत्ता मात्र पाएको गुनासो गरे । गत वर्ष पुस महिनासम्म १० हजार रुपैयाका दरले तलब पाए पनि उनीहरुले त्यसयता पाएका छैनन् ।

नगरपालिकाले तलबको ६० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको भए पनि उनीहरुको खातामा तीन हजार रुपैया मात्र जम्मा भएको छ ।

परशुराम नगरपालिकाको कार्यालयले वडा कार्यालयले नै करारमा कर्मचारी राखेको जनाएको छ । ‘वडा कार्यालयका जनप्रतिनिधिहरुले आफुखुसी कर्मचारी भर्ना गरे, तलब दिन नसकेपछि नगरपालिकाले दिनु पर्ने भनेकाले विनियोजित रकमबाट छ महिनाको तलब पुगेन” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले भने– ६ महिनाको तलब पहिलो चौमासिकमा दिने कुरा भएको छ ।

उनले स्वास्थ्यकर्मीहरुलाई ६० प्रतिशत स्तर अनुसारको जोखिम भत्ता दिएको बताए ।

नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडाध्यक्ष केशव बोहराले एक वडा एक स्वास्थ्यकर्मी अन्र्तगत वडा कार्यालयले कर्मचारी भर्ना गरेको र तलब भत्ता नपुगेपछि नगरपालिकाले दिने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार