१० श्रावण २०८१, बिहीबार

एसईईको नतिजा केही बेरमा



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा केही बेरमा प्रकाशित गर्ने भएको छ ।

बोर्डले एसईईको परीक्षा प्रमाणीकरण गरेरे आज (सोमबार) साँझै वा भोलि (मंगलबार) बिहानै प्रकाशन गर्ने तयारी गरिरहेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बोर्डको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेको जनाए ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेपछि नतिजा सार्वजनिक गर्ने प्रावधान छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरिरहेको जनाएको छ ।

बोर्डले १० दिनअघि नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो । नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्ने भन्दै रोकिएको थियो ।

गत वर्षभन्दा फरक तरिकाले परीक्षा सञ्चालन भएका कारण विगतमा जस्तै नतिजा सार्वजनिक गर्ने वा नगर्ने विषयमा बोर्डमा विवाद छ । नतिजा प्रमाणित मात्रै गरेर विद्यालयलाई जानकारी दिनुपर्ने केही सदस्यहरुको तर्क छ ।

नतिजा सार्वजनिक गर्ने विषयमा छलफल चलिरहेको बोर्डका एक सदस्यले कान्तिपुरसँग बताए । बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० लाई नतिजा प्रमाणिकरणको अन्तिम तयारी गर्न निर्देशन दिइसकेको छ ।

नतिजा प्रकाशन गर्नुअघि बोर्डको बैठक बस्नुपर्ने व्यवस्था छ । बोर्डका केही सदस्यले सोमबार नतिजा प्रकाशन नमुना (डेमो) को समेत अध्ययन गरिरहेका छन् । नतिजा प्रकाशनका लागि बाँकी रहेका काम भइरहेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । ‘आज साँझ वा भोलि बिहानसम्म नतिजा आउने सम्भावना छ,’ उनले भने ।

यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए । कोरोना भाइरसका कारण बोर्डले परीक्षा सञ्चालन गर्न सकेन् । मन्त्रिपरिषदको निर्णयअनुसार विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गर्दैछ । बोर्डले अनुमति दिए नतिजा प्रकाशन गर्न सकिने कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार