१२ श्रावण २०८१, शनिबार

विकास सम्मेलनको तयारी पुरा



धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा आगामी १८ गते धनगढी विकास सम्मेलन हुने भएको छ । विकास सम्मेलनको सबै तयारी पुरा भएको उपमहानगरपालिकाले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले विकास सम्मेलनमा प्रस्तुत हुने विषयवस्तुबारे टुंगो लागेको जनाएको छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विकास सम्मेलनमा चार वटा क्षेत्रमा छ वटा कार्यपत्र प्रस्तुत गरिने बताए । उनले भने– विकास सम्मेलनमा सामाजिक, आर्थिक, पूर्वाधार विकास र वातावरणको संरक्षणका क्षेत्रमा मुख्य परियोजना प्रस्तुत हुने छन् ।
“विकास सम्मेलनमा नगरबासीहरूले भोग्नु परेका दैनिक समस्याहरूलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दीगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरिने छ– विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देश गर्ने छ । जसले योजनावद्ध विकासको लागि सहयोग पुग्ने छ ।
नगर प्रमुख वडले धनगढीको विकासका लागि नागरिकसंग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरी उत्कृष्ट तीन जनालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको बताए । पहिलो हुनेलाई सम्मेलनमा आफ्नो परियोजना प्रस्तुत गर्ने अवसर दिइने छ । नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरूको दायरा फराकिलो बनाइने लगायतका विषयवस्तुहरू समावेश गरिने उनले बताए ।
प्रस्तुत गरिने परियोजनाहरू सम्बन्धित क्षेत्रका बिशेषज्ञहरूलाई समन्वय गरी दु्रत प्रभाव छोटो अवधि र लामो अबधि गरी तीन भागमा पहिचान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए । उनले ती प्रस्तुतिहरू सम्बन्धित क्षेत्रका बिशेषज्ञबाट प्रस्तुत गरी उपस्थित सम्पुर्ण सहभागीहरूसंग बृहत छलफल गरेर परियोजनालाई अन्तिम रुप दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार