११ श्रावण २०८१, शुक्रबार

पश्चिम सेति जलविद्युतका लागि दबाव



सुदूरपश्चिम प्रदेशको लामो समयदेखि सर्वाधिक चर्चामा रहेको पश्चिम सेति जलविद्युत आयोजनाबारे एक पटक फेरि चर्चा बढेको छ । अढाई दशकअघिदेखि चर्चामा रहेको साढे सात सय मेघावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना पटकपटक बन्ने र नबन्ने चर्चा मै सिमित भएको छ । सुदूरपश्चिम प्रदेशकै मात्रै नभएर सिंगो मुलुकका लागि निकै महत्व राख्ने पश्चिम सेती आयोजना कहिले बन्छ ? भन्ने कुनै टुंगो छैन । यो आयोजना निर्माणका लागि प्रक्रिया अघि बढ्दा समर्थन र विरोधका स्वर पनि उत्तिकै आउने गरेका छन् । यो आयोजना निर्माणमा थुपै्र विदेशी कम्पनीले रुचि देखाए पनि एकपछि अर्को गर्दै निर्माण प्रक्रियाबाट हात झिक्ने गरेका छन् । बझाङ, बैतडी, डडेल्धुरा र डोटी जिल्लाहरु प्रत्यक्ष रुपमा जोडिने यो आयोजना निर्माण अनिश्चित बनिरहदा आयोजनाको क्षेत्रमा कुनै पनि किसिमका विकास निर्माण आयोजना समेत ठप्प रहेको अवस्था छ । अहिले राजनीतिक नेतृत्व तहमा यो आयोजनाबारे खासै चासो व्यक्त भएको पाइदैन, तर जनस्तरमा अहिले पनि यो आयोजनाबारे कुनै न कुनै रुपमा चासो र सरोकार व्यक्त हुने क्रम भने जारी रहेको देखिन्छ ।
पछिल्लो पटक केन्द्रीय राजधानी काठमाडौंमा सुदूरपश्चिम प्रदेशका केही युवाहरूले पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा सरकारमाथि दबाव बढाउने उद्देश्यले केही समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । कचौरामा पानी, सांगीतिक संघर्षदेखि विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वलाई ज्ञापन सहितका कार्यक्रममार्फत सुदूरपश्चिम प्रदेशका युवाहरूले पश्चिम सेती आयोजना निर्माणबारे एक पटक फेरि जागरण ल्याउने प्रयास गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिका लागि वास्तवमै कोशेढुंगा तथा टर्निङ प्वाइन्ट बन्ने पश्चिम सेती जलविद्युत आयोजनाको सबैभन्दा बढि चासो यहाका जनताको नै हो । राजनीतिक नेतृत्व, नीति निर्माता तथा सरकारबीचका रस्साकस्सीका साथै विभिन्न किसिमका स्वार्थका कारण यो आयोजना अझैं पनि बन्ने र नबन्ने सवालबीच अड्केको अवस्था छ । त्यस्तै, विभिन्न स्वार्थ समुहबीचको गोटी बनेको यो आयोजनाबारे पछिल्लो समय केही उत्साहजनक समाचारहरू बाहिरिए पनि विगतका तितो अनुभवका कारण आश्वस्त हुनसकिने अवस्था छैन । त्यसैले पनि पश्चिम सेती आयोजना सञ्चालन सुनिश्चित बनाउन हरेक पक्षबाट एकसाथ निरन्तर दबावमुलक आवाज उठिराख्नु जरुरी हुन्छ ।
पश्चिम सेती आयोजना बन्ने चर्चा शुरु हुदा विरोधमा उग्रस्वर पनि उठ्ने गरेको सन्दर्भमा यो आयोजनाबारे व्यक्त हुने हरेक शंकाउपशंकाबारे पनि सरकारले जनमानसमा स्पष्ट पार्नु जरुरी हुन्छ । पश्चिम सेती नेपालको राम्रो मध्येको एक जलविद्युत आयोजना भएको मानिन्छ । त्यसैले पनि यो आयोजना सञ्चालनमा अहिलेसम्म भएका ढिलाई तथा अवरोधका हरेक कारणबारे जनतालाई सुसूचित गर्दै पश्चिम सेतीको सपनालाई साकार पार्नेतर्फ ध्यान दिइनु पर्दछ । यसका लागि एक पटक फेरि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश संसदका सदस्य, शिर्ष राजनीतिक नेतृत्व, स्थानीय तह, नीति निर्माता सहित हरेक पक्षले यसप्रति चासो व्यक्त गर्ने तथा आयोजना साकार पार्न सबै किसिमको पहल गर्नेतर्फ पहल गर्नु उचित हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार