३० कार्तिक २०८२, आईतवार

बसन्ता जैविक मार्गको सवाल



सम्पादकीय/ कैलालीमा रहेको सबैभन्दा घटना र ठूलो मानिएको बसन्ता बन क्षेत्रलाई जैविक मार्गका रुपमा विकास गर्ने सवालले एक पटक फेरि चर्चामा आएको छ । भारतदेखि नेपालको तराई हुँदै चुरेसम्म फैलिएको बसन्ता बन क्षेत्र आफैं पनि अन्तर्राष्ट्रिय जैविक मार्गका रुपमा रहेको छ । तर, पछिल्ला दशकहरूमा बसन्ता बनजंगल क्षेत्रमा तीब्र रुपमा भइरहेको मानव वस्ती विस्तार तथा अन्धाधुन्ध ढंगले भइरहेको भौतिक संरचना निर्माण कार्यले गर्दा जैविक मार्ग र वन्यजन्तुको बासस्थानमा कठिनाई बढ्दै गएको देखिन्छ । बन तथा वातावरण विज्ञहरूका अनुसार बसन्ता बन क्षेत्र र आसपासका क्षेत्रमा द्रुत गतिमा मानव वस्ती विस्तार तथा भौतिक संरचना निर्माणका कारण वन्यजन्तुको बासस्थानमा ह्रास आउनुका साथै बासस्थानको खण्डीकरण तथा बन्यजन्तुको ओहोरदोहोरमा अवरोध बढिरहेको छ । बसन्ता बनमा बढ्दो दबावका कारण जैविक मार्ग विकास तथा विस्तारको सवाल निकै चुनौतिपूर्ण छ भन्ने विश्लेषण गलत हुँदैन । पछिल्लो पटक कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग बसन्ता बन क्षेत्रमा अवरुद्ध भएको अवस्था छ । बसन्ताको जैविक मार्ग अर्थात् बन्यजन्तुको सहज आवागमन बनाइराख्न जमिनमुनि अथवा जमिनमाथि (फ्लाईओभर) बाटो बनाउने विकल्पबारे बहस भइरहेको अवस्था छ ।
पछिल्लो समय स्थानीय तहदेखि प्रदेश र केही हदसम्म संघीय सरकार, जनप्रतिनिधिहरुमा बनजंगल “विकासको बाधक” बनेको सोच विकास भइरहेको देखिन्छ । स्थानीय तहका जनप्रतिनिधिले बन ऐनकानूनको पालना गर्नुलाई झन्झटका रुपमा लिने मानसिकता देखिदैछ । सडक निर्माण गर्दा होस् वा अरु भौतिक संरचना निर्माणमा होस् आफूखुसी ढंगले रुख काट्ने गरेका थुप्रै घटना दोहोरिएको अवस्था छ । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी, तेघरी जंगलमा राख्ने निर्णय पनि यस्तै अर्को मानसिकताको उपज थियो । विकास निर्माणको गति अवरुद्ध गर्नुहुदैन भन्नेमा दुईमत हुदैन, तर यसको अर्थ बनजंगलको अन्धाधुन्ध दोहोन तथा बिनासप्रति उदासिन हुनुपर्छ भन्ने कदापि हुनस्रक्दैन र हुनु पनि हुदैन । बसन्ता जस्तो जैविक मार्ग तथा पर्यावरणीय दृष्टिकोणले निकै संवेदनशील मानिएको बनको संरक्षण तथा संवद्र्धनलाई प्राथमिकतामा राख्नु हरेक सरकारको दायित्व हो । बसन्तादेखि कैलालीका ठूला र घना मानिएका बनजंगलमा लामो समयदेखि पटकपटक अतिक्रमण दोहोरिदै आएको छ । करिब दुई दशकअघि बसन्ता, बाह्बन, डुढेझारी लगायतका जंगलमा भएको व्यापक अतिक्रमण र अतिक्रमण हटाउने क्रममा भएका दुःखदायीपूर्ण घटनाको पुनरावृत्ति हुन नपावस् भन्नेमा सधैं सजग हु्नु आवश्यक हुन्छ
बसन्तालाई जैविक मार्गका रुपमा विकास र विस्तार गर्ने चर्चाबीच स्थानीय, प्रदेश तथा संघीय सरकारबीच समन्वय र सहकार्यमा दीर्घकालीन योजना तर्जुमा भएर लागू गर्नेतर्फ सोच बनाउनु आवश्यक छ । यसका साथै बसन्ताभित्र र आसपासमा रहेका मानववस्तीलाई समेत यसको संरक्षण तथा विकासको साझेदारका रुपमा सहभागी गराउनेतर्फ ठोस पहल आवश्यक हुन्छ । बन, बन्यजन्तु र मानवबीच द्वन्द्व होइन, एकले अर्कालाई कुनै बाधा नपु¥याउने ढंगले जैविक मार्गको विस्तार र विकास आवश्यक हुन्छ । यसका लागि बन्यजन्तुको सहज आवागमन तथा सुरक्षित बासस्थानमा कुनै पनि किसिमको अवरोध आउन नदिनेतर्फ सचेततापूर्वक योजना लागू गर्नु आवश्यक हुन्छ । र, बसन्ता जैविक मार्ग विस्तारको बहसलाई सार्थक टुंगोमा पु¥याउनेतर्फ प्रयास गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार