३१ बैशाख २०८१, सोमबार

पर्यटन व्यवसायीहरू भन्छन्– साझा अजेण्डा नै भएन



धनगढी । सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायीहरूले पर्यटन विकासका लागि साझा अजेण्डा नै बन्न नसकेको स्वीकार गरेका छन् । पर्यटन व्यवसायीहरूले पर्यटनका विषयमा सरकार र निजी क्षेत्रबीच नै तालमेल बन्न नसकेको पनि दोहोर्‍याए ।


शनिबार धनगढीमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको दशैंतिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पर्यटन व्यवसायीहरूले सुदूरपश्चिममा पर्यटनको अवस्था, पर्यटक आगमनको अवस्था, नेपाल भ्रमण वर्ष २०२०, पर्यटन भित्राउने रणनीति, चुनौति र सम्भावना लगायतका पक्षमा टिप्पणी गरे ।
‘सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन हामी व्यवसायीहरूको साझा एजेण्डा नै भएन” नेपाल पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महराले भने– यसले गर्दा पर्यटन सम्बन्धी न त स्पष्ट दृष्टिकोण नै बन्नसक्यो, न मार्गचित्र नै ।
पर्यटन व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासका लागि गुरुयोजना बनाएर सबै पक्ष प्रतिवद्ध भएर अघि बढ्नुपर्ने पुनः स्मरण गरे । पर्यटन व्यवसायीहरूको गुनासो थियो–पर्यटन विकासका सवालमा निजी क्षेत्र एकातिर र सरकार अर्कोतिर रहेको स्थिति अझैं छ ।
दशै, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान अवसरको सदुपयोग गर्दै पर्यटन व्यवसायीहरूले नजिकिँदै गरेको भिजिट नेपाल २०२० लाई सुदूरपश्चिम प्रदेशमा कसरी उपलब्धीमुलक बनाउने भन्नेमा पनि आआफ्ना योजना र धारणा व्यक्त गरे ।
पर्यटन बोर्डका सदस्य महराले भने– सुदूरपश्चिम प्रदेशमा बाह्य पर्यटकलाई आकर्षित गर्ने खप्तड, शुक्लाफाटा आरक्ष लगायतका गन्तव्य छन्, तर त्यहा“ खाने, बस्ने समस्या छ । उनले पर्यटन बोर्डको बैठकमा आवासको व्यवस्था गर्न पटकपटक नीजि क्षेत्रलाई बोलपत्र आह्वान गरेर ठेक्का दिन सुझाव दि“दा पनि सुनुवाई नभएको सुनाए । बोर्ड सदस्य महराका अनुसार पर्यटन बोर्डबाट यस वर्ष खप्तड क्षेत्रको विकासका लागि पाँच करोड रुपैया विनियोजन गरिएको जानकारी दिए ।
उनले सरकारले भिजिट नेपाल २०२० घोषणा गरे पनि त्यस अनुसार पर्यटकलाई प्राथमिकता दिएर काम गर्न नसकेको गुनासो गरे । उनले भने– सरकारले बजार प्रवद्र्धनमा बढी जोड दिए पनि पूर्वाधार निर्माणमा खासै ध्यान दिन सकेन । पूर्वाधार बिना कसरी पर्यटकहरू पर्यटन स्थलसम्म पुग्छन् ?’
कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पर्यटकको आगमन बृद्धि गर्न अतिथी सत्कारमा सुधार आवश्यक रहेको चर्चा गरिन् ।
‘पर्यटक भित्राउनका लागि पर्यटकलाई बुझ्ने धारणा तथा गरिने व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ उप–प्रमुख भट्टले भनिन्– पर्यटन व्यवसायीहरूले पनि मुस्कान सहितको सेवा दिनेतर्फ ध्यान दिनु आवश्यक छ ।
उपप्रमुख भट्टले पुरानै तरिकाले नेपाल भ्रमण बर्ष २०२० सफल पार्न नसकिने बताइन । ‘त्यसका लागि नाटा सुदूरपश्चिमले ठोस योजना बनाउनु आवश्यक छ” उनले भनिन्– पर्यटकप्रतिछ गरिने व्यवहारमा सुधार नभएसम्म पर्यटक आगमनमा बृद्धि सम्भव छैन । उनले पूर्वाधारको विकाससंगै मानवीय व्यवहारमा पनि सकारात्मक परिवर्तन आवश्यक रहेको बताइन् ।
सुदूरपश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख भोजराज पाठकले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन नीति तयार गरिरहेको बताए । उनले भने–सुदूरपश्चिम पर्यटकका लागि नयाँ गन्तव्य हो, तर त्यसका लागि आवश्यक पुर्वाधार तथा पर्यटनमैत्री वातावरण आवश्यक रहेको छ । उनले सुदूरपश्चिमको प्रमुख पर्यटक हब कैलाली र कञ्चनपुरनै रहेको बताए ।
नाटाका प्रदेश अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलमबहादुर बम, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योति भट्ट, होटल व्यवसायी प्रकाश भट्ट, कर्णाली र्‍याफ्टिङका देवराज जोशी, वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज पुष्कर पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नाटाका सचिव शिवहरी पाण्डेले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रकाशविक्रम सिंहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार