१० श्रावण २०८१, बिहीबार

जनताको विश्वास गुम्न नदिन जनप्रतिनिधिहरुलाई नेकपाका नेताहरुको निर्देशन



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई विश्वास र भरोसा गरेकाले यसलाई गुम्न नदिन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।


नेकपा सुदूरपश्चिमको आयोजनामा शुक्रबारदेखि धनगढीमा शुरु भएको स्थानीय जनप्रतिनिधिहरुको लागि विशेष प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै नेकपा अध्यक्ष दाहालले निर्वाचनताका गरिएका वाचा पूरा गर्न अनुरोध गरेका हुन् । उनले निर्वाचित जनप्रतिनिधि सुविधा भोगी भए जनमत आफ्नो पक्षमा नरहने र देश संमृद्ध बनाउने अभियान नै कमजोर हुने बताए ।
अध्यक्ष दाहालले सुदूरपश्चिम र कर्णाली प्रदेशको विकासलाई परिवर्तनको प्यारोमिटर मानिने बताए । उनले पार्टीले निर्वाचनका बेला गरेका संकल्प पूरा गर्न, पार्टी एकता र जनप्रतिनिधिलाई जिम्मेवार बनाउन प्रशिक्षणले सहयोग पुग्ने समेत बताए ।
अध्यक्ष दाहालले पार्टी एकताको प्रक्रिया शुरु हुँदाको जनता र कार्यकर्तामा देखिएको उत्साह निरन्तर कायम गर्न पनि जनप्रतिनिधि र जिम्मेवार पदाधिकारीहरुको रहेको बताएका छन् । उनले एकताको डेढ वर्षपछि आएर उत्साह कम हुँदै गएको महशुस भएको बताए । उनले जनतालाई पनि झन विश्वास दिलाउन हामीले क ग¥यौं भन्ने कुराको समिक्षा पनि गर्न जरुरी रहेको बताए । ‘कही न कही हामीले त्रुटीहरु गरेका छौं,’ अध्यक्ष दाहालले भने, ‘हामीले जनअपेक्षा र जनतामाझ गरेको प्रतिबद्धता अनुसारको काम नगरेको टिप्पणी र जनगुनासो सुन्न परेको छ । विकास निर्माणले जति तिब्र गति लिनुपर्ने हो त्यो नभएको गुनासो हामीले सुनिरहेका छौं ।’


उनले सुदूरपश्चिमलाई ध्यान दिनुपर्ने जति ध्यान दिइएन, ठूला परियोजना जति पर्नुपथ्र्यौ परेको छैनन्, पार्ने भनेर निर्णय गरिएका परियोजना पनि पछि त्यतिकै सेलाउन थालेक हुन कि भन्ने गुनासो पनि रहेको अध्यक्ष दाहालले बताए ।
अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशमा अघि सारिएका विश्वविद्यालय, पञ्चेश्वर, माथिल्लो कर्णाली र पश्चिम सेती जलविद्यतु परियोजना, गड्डा चौकी सुख्खा बन्दरगाह गति लिन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले सो आयोजनाहरु गतिशिल बनाउन नेकपाले पार्टीमा छलफल गर्ने समेत भइरहेको जनाए । उनले पञ्चेश्वर, माथिल्लो कर्णाली र पश्चिम सेती जलविद्यतु परियोजना सरकारले नै बनाउनुपर्ने धारणा राख्दै नेकपाले सरकारलाई त्यसका लागि दवाव दिने बताए । ‘सुदूरपश्चिमबाट नेताहरुले पनि यि विषय प्रधानमन्त्रीसंग र पार्टी केन्द्रमा पनि पटक पटक उठाइरहनु भएको छ,’ उनले भने, ‘पार्टीको हेडक्वाटरमा पनि यसबारे छलफल भइरहेको छ । हाम्रो ध्यानाकर्षण पनि भएको छ । म यो प्रशिक्षणमा के विश्वास दिलाउन चाहन्छु भने यि विषयलाई पार्टी हेडक्वाटरको तर्फबाट पनि गाडि बढाइने छ । सुदूरपश्चिम प्रदेशको विकासका लागि नेकपा केन्द्रले नेतृत्व गर्ने छ ।’
अध्यक्ष दाहालले चिनिया राष्ट्रपतिको भ्रमणमा हिल्सा–सुर्खेत सडक बिस्तारको योजना परेकाले यसबाट सुदूरपश्चिमले पनि लाभ लिन सक्ने बताए । उनले चिनिया राष्ट्रिपति सि चिङपिङको भ्रमणले अन्तराष्ट्रिय सम्बन्धमा नयाँ आयामहरु थपिएको बताए । उनले पेट्रोलिय पाईप लाईन विस्तारले भारतसंग पनि सम्बन्धमा नयाँ आयाम ल्याएको बताए ।


नेकपाका स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम इञ्चार्ज भीमबहादुर रावलले जनताले दिएको जिम्मेवारी पूरा गर्न र भ्रष्टाचारबाट जोगिन जनाप्रतिधिहरुलाई निर्देशन दिएका छन् । उनले जनताहरुलाई फुटाएर देश टुक्रा टुक्रा पार्न खोजिरहेको भन्दै त्यसप्रति सरकारले गम्भीर रुपमा सोच्नुपर्ने बताए ।
नेता रावलले पार्टीको चुनावी घोषणा पत्र अनुसार काम गरे अझै पनि सुदूरपश्चिमबाट नेकपाले बहुमत ल्याउने बताए । उनले संविधानमा भएको व्यवस्था अनुसार सरकारले काम नगरेको बताउदै संवैधानिक व्यवस्था अनुसार पार्टी र सरकारलाई चलाउन आग्रह गरे ।
उनले सुदूरपश्चिम प्रदेशमा विकास नभएको र सरकारले गर्ने नियुक्तिमा समेत स्थान नदिएको बताए । उनले पश्चिम सेती जलविद्युत आयोजना कम्पनीले निर्माण गर्ने जिम्मा दिएको बेला नेपाल सरकारका अर्थमन्त्रीले संसद्बाटै सरकारले निर्माण गर्ने घोषणा गरेको भएपनि बजेट नपारिएको बताए । उनले ११ वर्षसम्म माथिल्लो कर्णाली ओगटने जीएमआरको अब म्याद नथप्न सरकारलाई आग्रह गरेका छन् । उनले माथिल्लो कर्णाली सरकारले बनाएमा त्यसका लागि सुदूरपश्चिम र कर्णालीका जनताले नै आयोजनालाई पुग्नेभन्दा बढी पैसा जुटाई दिने बताए ।


नेकपाका अर्का स्थायी समिति सदस्य लेखराज भट्टले आफ्ना सोचहरु भत्काई रुपान्तरण भएर एकतावद्ध पार्टीबाट विकास गर्नुपर्ने बताए । उनले सरकारले पश्चिम सेती र पञ्चेश्वर परियोजना अगाडि बढाउनलाई पहल गर्न आग्रह गरे ।
प्रदेश अध्यक्ष कर्ण थापाको अध्यक्षतामा भएको सभाको सञ्चालन प्रदेश सचिव नेपबहादुर चौधरीले गरेका थिए । सभामा पार्टीमा सुदूरपश्चिमको नेतृत्व गर्ने स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यहरु, संघीय संसदका सांसदहरु, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख र पार्टी अध्यक्षहरु सहभागी छन् । प्रशिक्षण कार्यक्रम ३ दिनसम्म चल्नेछ । जनप्रतिनिधिहरुलाई डाक्टर चन्द्रमणी अधिकारी, गोविन्द बन्दी, पार्टीका उच्च तहका नेताहरु लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार