११ पुष २०८१, बिहीबार

दश वर्षसम्म पनि पुल बनेन



शेरबहादुर ऐर/धनगढी । ‘कान्द्रा पुल निर्माण कार्य हामी यही वर्षभित्र पुरा गर्छौ’ २०७५ सालमा अनुमोदन दैनिकसंगको कुराकानीका क्रममा निर्माण कम्पनीका सबइञ्जिनियर राधेश्याम शर्माले प्रतिक्रिया दिएका थिए । सो वेलासम्म कैलालीको भजनी नगरपालिकाका चार वटा वडा जोड्ने कान्द्रा पुल निर्माण कार्य करिब ३० प्रतिशत पुरा भइसकेकोे थियो ।


आर्थिक वर्ष २०७५÷७६ सकियो, तर कान्द्रा पुल निर्माण काम भने सकिएको छैन । हुलाकी सडक आयोजनाका अनुसार सो पुलको निर्माण कार्य अहिलेसम्म ३५ प्रतिशतमात्र पुरा भएको छ ।
भजनी नगरपालिकाको चार वटा वडा जोड्ने सो पुल निर्माण हुन थालेको भने १० वर्ष पुगिसकेको छ । हुलाकी सडक अन्तर्गत २०६६ सालमा ठेक्का सम्झौता भएको सो पुलको निर्माण कार्य अझैंसम्म आधा पनि पुरा भएको छैन ।
भजनी नगरपालिका वडा नम्बर ३, ४, ५ र ८ का बासिन्दाले पुल नभएका कारण आवतजावतमा निकै सास्ती भोग्नु परिराखेको छ । स्थानीयको एउटै जिज्ञासा हुने गर्छ– योे पुल कहिले बन्ला र हामीले सहज रुपमा आवतजावत गर्न पाउ“ला ? भजनी नगरपालिका वडा नम्बर ३ का मानबहादुर चुनाराले भने– हरेक वर्ष ठेकेदारले यहि वर्षभित्र पुरा गर्छु भनेर आश्वासन दिन्छ, तर कामको गति भने उस्तै हुने गरेको छ ।
स्थानीयका अनुसार शुरुमा दुई वर्षको निर्माण अवधिसहिते लामा सेर्पा जेभीले ठेक्का पाएको थियो । तर, ठेकेदार कम्पनीले तोकिएको अवधिमा काम पुरा गरेन, बरु पटकपटक सडक विभागबाट म्याद थप गर्दै आएको छ । कान्द्रा नदीमा वर्षायाममा डुंगा चलाउन समेत कठिनाई हुने भएकाले स्थानीयले झन् सास्ती भोग्नु परिरहेको छ । पुल नहु“दा सबैभन्दा बढी विद्यार्थी, अशक्त, बृद्धबृद्धा, महिलाले सास्ती भोगिरहेका छन् । वर्षायामको तीन महिना विद्यार्थीले पठनपाठनबाट वञ्चित हुनुपरेको छ । बिरामीले स्वास्थ्य उपचार सेवा पाउन नसक्ने अवस्था हुने गरेको छ ।
स्थानीय मानबहादुर साउदले भने– निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि पुल निर्माण कार्य किन अधुरो छ ? भन्नेबारे सम्बन्धित निकायले अनुगमन समेत गरेको छैन ।
वडा नम्बर ५ को सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका मानबहादुर साउँदले पुल नहुँदा वर्षायाममा विद्यालय जान समेत कठिनाई हुने गरेको बताए । उनले भने– वर्षायाममा नदीमा डुंगा चलाउन सकिदैन, नदी गहिरो र चौडा भएका कारण पार गर्न पनि सकिदैन ।
स्थानीयले जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूसंग थुप्रै पटक छिटो पुल निर्माणका लागि पहल गर्न अनुरोध गरे पनि कुनै सुनुवाई नभएको गुनासो गरे ।
पुल निर्माणको ठेक्का पाएको लामा सेर्पा जेभीले भने सडक आयोजनाले ठेक्का सम्झौता भइसकेपछि पुलको डिजाइन परिवर्तन गरेकोले समयमा निर्माण कार्य पुरा गर्न नसकिएको दाबी गर्दै आएको छ । निर्माण कम्पनीका सबइञ्जिनियर राधेश्याम शर्माले यसै वर्षभित्र निर्माण कार्य पुरा हुने आश्वासन दोहोर्‍याए ।
हुलाकी सडक आयोजना अन्तर्गत तीन करोड ४५ लाख २० हजार रुपैयाँको लागतमा २०६६ साल जेठ ३१ गते दुई वर्षको निर्माण अवधिसहित लामा सेर्पा जेभीले सो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार