३ माघ २०८१, बिहीबार

यसरी बिताए सिले काठमाडाैंमा २२ घण्टा



काठमाडौं । शनिबार बेलुका ४:४७ मा त्रिभुवन विमानस्थलमा ओर्लिएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो  करिब साढे २  बजे चीनका लागि प्रस्थान गरेका छन्। उनी दुई दिने भारत भ्रमण सकाएर सिधै नेपाल आएका थिए।

विमानस्थलबाट सोल्टी होटल पुगेका सी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि शीतल निवास पुगेका थिए। त्यस अतिरिक्त उनका सबै कार्यक्रम सोही होटलमा भएको थियो।

कसरी बित्यो उनको दुई दिन?
  • सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गरेकी थिइन्। विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायतका मन्त्रीहरु तथा राष्ट्रियसभाका अध्यक्ष पुगेका थिए।
  •  स्वागतपश्चात सीलाई नेपाली सेनाले विमानस्थलमै ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो।
  • विमानस्थलबाट सी होटल सोल्टी क्राउन प्लाजा पुगेका थिए। त्यहाँ केही बेर आराम गरेपछि उनी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि राष्ट्रपति निवास शीतल निवास पुगेका थिए। भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिए।भेटवार्ताका क्रममा राष्ट्रपति सीले शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए। सोपश्चात् दुवै राष्ट्रपति बीचमा प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको थियो।
  • शीतल निवासबाट सोल्टी होटल नै फर्किएका सीसँग पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। झन्डै २० मिनेट भएको भेटमा देउवाले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई)प्रति आफ्नो समर्थन सुनाएका थिए। साथै, नेपालमा चिनियाँ लगानीको अपेक्षा पनि प्रस्तुत गरेका थिए।कांग्रेसले समर्थन राखिरहेको एक चीन नीतिप्रति सीले आभार व्यक्त गरेका थिए। भेटमा उनले देउवालाई चीन भ्रमणको निम्तोसमेत दिएका थिए।
  • त्यस्तै, सी र राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले भेटवार्ता गरे। तिमिल्सिनाले नेपाल भ्रमण गरेकोमा नेपाली जनता खुसी भएको र भ्रमणका लागि सीलाई धन्यवाद व्यक्त गरे। उनले नेपाल राजनीतिक स्थायित्व हासिल गरी समृद्धिको यात्रामा अगाडि बढेको जानकारी गराउँदै मित्रराष्ट्र चीनको सहयोग अपरिहार्य हुने धारणा राखे।
  • नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि पनि उनले धन्यवाद व्यक्त गरे। भेटका क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको बताए। ‘नेपालको संसद्‌को तर्फबाट यहाँ र सांसदहरुलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु,’ राष्ट्रपति सीले भनेका थिए। 
  • राष्ट्रपति भण्डारीले सीको सम्मानमा आयोजना गरेको रात्रिभोज पनि शनिबार नै चल्यो। भोजअघि दुवै राष्ट्रपतिले संक्षिप्त सम्बोधन गरेका थिए। उनीहरुले आफ्नो सम्बोधनमा दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई व्याख्या गर्नुका साथै कनेक्टिभिटीलाई पनि जोड दिएका थिए। 
  • आइतबार बिहान सीले नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यहरुलाई भेटेका थिए। भेटवार्तामा सीले नेकपा नेताहरुलाई केही सुझाव दिएका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विट गर्दै दुई विषयमा सीले बढी जोड दिएका थिए।पहिलो, शासन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ। यो हाम्रो अनुभव हो। दोस्रो, चिनियाँ कम्युनिस्ट पार्टिले चीनमा शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन, निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकाले हो। 
  • त्यसपछि दुवै पक्षका प्रतिनिधिमण्डलबीच उच्चस्तरीय बैठक बसेको थियो। उक्त वार्तामा नेपाल-चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो। र, सो बैठकपछि विभिन्न तहमा नेपाल र चीनबीच १८ समझदारीपत्र र २ लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको थियो।प्रधानमन्त्री ओली र सीको उपस्थितिमा समझदारीपत्र आदानप्रदान भएको हो। 
  • सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि एक्लाएक्लै भेटवार्ता भएको थियो। भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।
  • प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि सी विमानस्थल गएका थिए। उनका बिदाइका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा राष्ट्रियसभाका अध्यक्ष विमानस्थल पुगेका थिए।
  • सी करिब साढे २ बजे स्वेदश फर्किए।

 नेपाल लाइभबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार