१२ श्रावण २०८१, शनिबार

दसैं सकियो, धान भित्र्याउने चटारो



गणेश चौधरी/टीकापुर । कैलालीमा किसानलाई धान भित्र्याउने चटारो छ । दसैंका कारण धान भित्र्याउन नसकेका किसान दसैं सकिए लगत्तै धमाधम धान काटन थालेका छन् ।

चाँडो तयार हुने राधा–४, सर्जु–५२ लगायतका धान सबै पाकी सकेकाले भित्र्याउन हतार भइसकेको किसानहरू बताउँछन् । दसैंअघि पानी परेकाले धान भित्र्याउन नपाएको र धान पाकेर दाना झर्ने अवस्था भइसकेकाले धान भित्र्याउन हतार भइसकेको जानकी गाउँपालिका–८ का किसान रमेश चौधरीले बताए ।

‘दसैं अघिको पानीका कारण केही धान ढलेकाले धान काटने मेसिनले काट्न पनि नमिल्ने भएकाले हसियाले काट्नु परेको छ,’ रमेश चौधरीले भने, ‘दसैं टीकाको दोस्रो दिनदेखि नै यहाँका किसानलाई धान काटन चटारो भएको छ ।’ धानबालीपछि तोरीबालीका लागि जग्गा तयार गर्नुपर्ने भएकाले पनि किसानहरू धान भित्र्याउन दिनभरि व्यस्त भएका छन् । रमेशले भने, ‘ढिलो भए जग्गाको चिस्यान गइहाल्छ । राम्रोसँग तोरी उम्रिन पाउँदैन ।’ यसपालि धान भित्र्याउने बेला वर्षा भएकाले अधिकांश किसानको धान बिग्रिएको छ । समयमा किसानले धान भित्र्याउन पाएका छैनन् ।

दसैं अघि नै भित्र्याइ सक्नुपर्ने धान भित्र्याउन नसेकेको रमेश चौधरीले बताए । उनका अनुसार समयमा धान भित्र्याउन नपाएकाले धान उत्पादनमा ह्रास हुने देखिएको छ ।

धान काट्न कैलालीका किसानले पावर टिलरको प्रयोग बढाउँदै लगे पनि अधिकांश किसानले अझै हातैले धान काट्ने गरेका छन् । किसानहरू आधुनिक कृषि औजारमा आकर्षित हुँदै गए पनि कतिपयको आर्थिक अवस्थाका कारण औजार किन्न नसकेकाले परम्परागत औजारकै सहारामा रहेका जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए । उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार र यहाँको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि तर्फको कार्यालयले अनुदानमा कृषि औजार सहयोग गर्दै आएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार