४ जेष्ठ २०८१, शुक्रबार

धनगढीमा गौशाला निर्माण



धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गाईको व्यवस्थापन गर्न गौशाला निर्माण गरिएको छ ।
गौ संरक्षण समितिले धनगढी उपमहानगरपालिका, वडा कार्यालय, प्रदेश सभा सदस्य तथा विभिन्न समाजसेवीसंग सहयोग रकम संकलन गरि गौशाला निर्माण गरेको हो ।
गौशालाको शनिबार एक समारोहका बिच छाडा गाई भित्र्याउँदै वडा नम्बर–३ का अध्यक्ष बलबहादुर ऐरले उद्घाटन गरेका थिए ।
बढ्दो छाडा पशुचौपाय समस्या न्युनीकरण गर्ने प्रयास स्वरुप निजी क्षेत्रबाट निर्माण २०७५ बैशाखदेखि निर्माण थालिएको थियो । समितिका सचिव सिताराम अवस्थीले गौशाला निर्माणमा हाल सम्म १ करोड ५० लाख खर्च लागेको बताए । उनका अनुसार धनगढी उपमहानगरपालिका, प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट पाँच/पाँच लाख, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ का प्रदेश सभा सदस्य डिल्लीराज पन्तको प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमबाट आठ लाख र अन्य समाजसेवी लगायतबाट २५ लाख संकलन गरिएको बताए ।
सुरुमा समितिकै पदाधिकारी बाट ११ सय संकलन गरी थालिएको अभियानमा तीन सय ६० जना आजिवन सदस्य थपिएका उनले बताए । यसैगरी ३३ जनाले ५१/५१ हजार आर्थिक सहयोग गर्नुका साथै ५३ जनाले ११ हजार नगद सहयोग गरेको अध्यक्ष पाठकले बताए ।
सचिव अवस्थीका अनुसार गौशाला निर्माणको काम अझै बाँकी रहेका कारण लागत अझै बढ्ने छ ।
उनले हाल एउटा मात्रै गौशाला घर निर्माण गरी एक सय ८ गाईको पालन पोषण गर्ने गरी ४ जना गाई हेरालुको व्यवस्थापन गरिएको बताए । उनले भने –‘अझै दुई वटा गाई राख्ने घर निर्माण गरि तीन सय २४ गाईको व्यवस्थापन गर्ने योजना रहेको छ ।’
समितिका सचिव सिताराम अवस्थीले भने –‘एउटा भवनमा एक सय आठ गाई अटाउने क्षमता रहेको छ ।’
उनले धनगढीमा बढ्दो छाडा पशुचौपाय समस्या समाधानका लागि गौशाला निर्माण गरिएको बताए । ‘बजारमा जताततै गाई मात्रै देख्दा हामीले थोरै भएपनि संरक्षणमा लाग्नु पर्छ भन्ने योजना बनाएर अभियान थालेका हौं’ उनले भने–‘यसमा कसैको निजी स्वार्थ भने छैन ।’
समितिका अध्यक्ष भोजराज पाठकले गौशालालाई व्यवस्थित गर्न र दिगो बनाउन गाईको दुध, मुत्र र गोबरको व्यवपार गरिने जनाइएको छ । उनले यसका साथै गोबरबाट धुप उत्पादनका लागि पनि विभिन्न निकाय संग प्राबिधिक सल्लाह भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार