४ जेष्ठ २०८१, शुक्रबार

दशैं आयो, जादै छु घर



धनगढी । विजया दशमी २०७६ नजिकिदै जाँदा कैलालीको धनगढीबाट दशै मनाउन पहाडी जिल्लामा मानिसहरु यात्रा गरिरहेका छन् ।
सिमावर्ती क्षेत्र भारतबाट कैलालीको धनगढी तथा कञ्चपुरको गड्डा चौकी नाका हुँदै प्रदेशका पहाडी जिल्लामा दशै मनाउन मानिसहरु यात्रा गरिरहेका छन् ।अन्य समयमा खुबै भिडभाड हुने प्रदेशको अस्थायी राजधानी धनगढी सुनसान बन्न थालेको छ ।
प्रदेशका ९ वटै जिल्लाबाट धनगढी बसाईसरी आएका वा कामको सिलसिलामा धनगढी प्रवेश गरेका नागरिक दशै मनाउन पहाडी जिल्लामा रहेका आफन्तजन समक्ष जान थालेपछि प्रदेशको अस्थायी राजधानी सुनसान बन्न थालेको हो ।घटस्थापना देखिनै मानिसहरु पहाडी जिल्लामा प्रवेश गर्ने क्रम सुरु भएसंगै धनगढी लगायत कैलालीको आवतजावत पातलिन थालेको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना सुरु भएदेखी पहाडी जिल्लाका लागि दैनिक एक हजार दुई सय निजी तथा सार्वजनिक सवारी छुट्ने गरेका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दैनिक ८ हजारको हाराहारीमा प्रत्येक दिन मानिसहरु पहाडी जिल्ला तर्फ जाने गरेका छन् ।प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मोहन साउँदका अनुसार हाल सम्म डेढ लाख मानिस कैलाली छोडेर पहाडी जिल्ला तर्फ प्रस्थान गरेका छन् । सामान्य समयमा कैलाली भएर डेढ सयको हाराहारीमा सार्वजनिक सवारी साधन सञ्चालन हुने गरेकोमा अहिले दैनिक एक हजार दुई सय निजी तथा सार्वजनिक सवारी साधन पहाडी जिल्ला तर्फ जाने गरेको उनले बताए ।
कैलाली जिल्लाबाट सुन्दर सुदूरपश्चिम यातायात प्राली, रिभरसाईड यातायात प्राली, मालिका यातायात प्राली र खप्तड मालिका यातायात प्रालीका सवारी मार्फत यात्रुहरु पहाडी जिलला तर्फ प्रस्थान गर्न थालेका हुन् ।
दशै मनाउन मानिसहरु कैलाली छोडेर जान थालेपछि सुरक्षा चुनौती बढेको भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । मानिसहरु घर छोडेर दशैमनाउन जाँदा चोरी डकैतीका घटना बढ्नसक्ने आँकलन सहित सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनले गाउँगाउँ सम्म पहुँच हुने गरी सुरक्षाका सवै संयन्त्र परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार