१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : फैलिंदै “कालोधन्धा” ?



विभिन्न अपराधिक तथा अवांछित गतिविधिको केन्द्र बन्दै गएको चर्चा हुने गरेको धनगढीमा लामो समयदेखि कालोचुकको कालोधन्धा सञ्चालनमा रहेको खुलासा भएसंगै अपराधिक मानसिकता भएका व्यक्ति तथा गिरोहको मनोवल निकै बढ्दै गएको छ भन्ने पुनःपुष्टि भएको छ । उपमहानगरपालिकाको अत्यधिक भीडभाड हुने बसपार्कको सार्वजनिक सौचालयलाई गोदामका रुपमा प्रयोग गरेर लामो समयदेखि “अखाद्य कालोचुक” को खुलेआम कारोबार भइरहेको खुलासा भएसंगै धनगढीमा कालोधन्धा गर्ने गिरोह तथा व्यक्तिहरूको जालो कति हदसम्म फैलिएको रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । मानव स्वास्थ्यका लागि हानिकारक रसायन प्रयोग गरेर तयार गरिएको अखाद्य तथा कृत्रिम कालोचुकको खुलेआम धन्धा भइरहे पनि अहिलेसम्म न त उपभोक्ताले न सम्वद्ध निकायले नै त्यसप्रति चासो नराख्नु अर्को उदेगलाग्दो तथ्य हो । आइतबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको एक टोलीले अनुगमनका क्रममा बसपार्क छेउको सार्वजनिक सौचालयबाट करिब पा“च सय लिटर अखाद्य कालोचुक बरामद गरे पनि त्यो धन्धामा संलग्न गिरोहका सदस्यहरूलाई भने पक्राउ गर्न नसक्नुले अनुगमन टोलीको नियतमाथि नै शंका गनुर््पर्ने अवस्था सिर्जना भएको छ ।
धनगढीका बसपार्क लगायतका विभिन्न स्थानमा पटकपटक विभिन्न अवांछित तथा अपराधिक गतिविधिका घटना सार्वजनिक हुने गरेका छन् । चरेश, ब्राउन सुगर सहितका लागू पदार्थ, लागू औषधको ओसारपसार र कारोबार, भारतीय मुद्राको अवैध सटही कारोबारदेखि बाघ, चितुवाको छाला तथा हड्डीको बेचबिखन, यार्सागुम्बासहित बहुमूल्य जडिबुटीको अवैध कारोबारदेखि साना हतियारको कारकोबार सम्मका घटना दोहोरिदै आएका छन् । विभिन्न होटल., लजमा बेश्यावृत्ति अर्को भयानक समस्याका रुपमा देखिएको छ । त्यस्तै, व्यापारिक सामग्रीको तस्करी तथा भारतबात अवैध रुपमा आयात सामान्य झै बनिसकेको अवस्था छ । अहिले बसपार्कको सार्वजनिक सौचालयलाई लामो समयदेखि गोदामका रुपमा प्रयोग गरेर अखाद्य कालोचुकको कालोधन्धाको घटना सार्वजनिक भएको छ । यी तमाम अवांछित तथा अपराधिक गतिविधिको शृंखलाले धनगढीलाई सजिलोसंग कालोधन्धा गर्ने केन्द्रका रुपमा प्रयोग गरिरहेको देखिदैछ । यो निश्चित रुपमा प्रशासन, प्रहरीसहितका सम्वद्ध निकायका लागि चुनौति हो ।
धनगढीमा लामो समयदेखि अखाद्य कालोचुकको धन्धाको घटना सार्वजनिक भएपछि प्रहरी, प्रशासन तथा अन्य निकाय बढी गम्भीर हुनु आवश्यक छ । प्रदेशको राजधानी समेत रहेको धनगढीमा अपराधिक, अवांछित तथा उछृंखल गतिविधि नियन्त्रण गर्ने भनेर विगतमा नगरका मुख्य स्थानमा सिसिटिभी जडान गरिएको थियो । तर, त्यो केही दिन पनि टिकेन । त्यस्तै, बढी संवेदनशील क्षेत्रमा प्रहरी विटको समेत व्यवस्था गरिएको छ । तर, बसपार्कको सार्वजनिक सौचालयमा लामो समयदेखि खुलेआम अखाद्य कालोचुकको कारोबार भइरहदा पनि कोही कसैले कुनै चासो समेत लिएको पाइएन । यी सबै घटनाक्रमले अपराधिक तथा अवांछित गतिविधि नियन्त्रणमा भइरहेका प्रयासहरुमा कहि न कहि केही कमजोरी रहेको छ भन्नु पर्ने हुन्छ । अर्कोतिर विभिन्न निकायबाट गरिने बजार अनुगमन फगत औपचारिकतामा सिमित रहेका देखिन्छन् । खासगरी दशैतिहार जस्ता चाडवाडका वेला गरिने बजार अनुगमनहरुले यस्ता कालोच्ुकको कालोधन्धा तर्फ दृष्टि समेत दिन सकेको पाइदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार