२ जेष्ठ २०८१, बुधबार

शौचालयमा “कालोचुक” को कालोधन्धाः ठूलो परिमाणमा बरामद



धनगढी । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ बसपार्कको छेउमा रहेका सार्वजनिक शौचालयबाट लामो समयदेखि “अखाद्य कालोचुक” को कारोबार भइरहेको खुलासा भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको एक टोलीले अनुगमनका क्रममा आईतबार बसपार्क छेउको सार्वजनिक शौचालयबाट ठूलो परिमाणमा अखाद्य कालोचुक बरामद गरेपछि कालोचुकको कालोधन्धा खुलासा भएको छ ।अनुगमन टोलीले शौचालयलाई भण्डार बनाएर भण्डारण गरिएको चार सय ६१ लिटर कालोचुक, कृत्रिम कालोचुक बनाउन प्रयोग गर्ने रसायन, डेढ दर्जन बढी ग्यालेन, कालोचु्क प्याकिङ गरिएको एक लिटरका एक सय २० बोतल बरामद गरेको जनाएको छ ।
खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरको नेतृत्वमा रहेको टोलीले ठूलो परिमाणमा कृत्रिम तथा अखाद्य कालोचुक तथा त्यसमा प्रयोग हुने रसायन बरामद गरे पनि सो कालोधन्धामा संलग्न व्यक्तिहरू भने नियन्त्रण लिन सकेन ।
स्थानीयका अनुसार एक वर्षदेखि केही व्यक्तिले बसपार्क शौचालयबाट कालोचुक बिक्री गरिरहेका थिए ।
स्थानीय सोम घलेले भने– केही व्यक्तिले हरेक महिना चितवनबाट “कालोचुक” ल्याएको भन्दै बसपार्कमा भण्डार गरेर धनगढी तथा पहाडी जिल्लामा बिक्री गर्दै आएका थिए । यो चुक खान नमिल्ने रहेछ भनेर भरखर मात्रै थाह पाए । घलेका अनुसार ती व्यक्तिहरूले हरेक महिना दुई साता जती धनगढीमा रहेर कालोचुक बिक्री गरेर फर्किने गरेका थिए ।
अनुगमन टोलीले सो स्थानबाट २५ किलो पाँच सय ग्राम चुक बनाउने तरल पदार्र्थ, रंग बनाउन प्रयोग गरिने रसायन (कारामेल) एक केजीको तीन बट्टा, सुगन्ध फैलाउन प्रयोग हुने पानी चार लिटर समेत बरामद गरेको जनाएको छ ।
खाद्य अनुसन्धान अधिकृत कुँवरले बसपार्कमा शुद्ध चुक भन्दै रसायन प्रयोग गरिएका कालोचुक बिक्री भइरहेको सूचना पाएपछि अनुगमन गरिएको बताए ।
खाद्य अनुसन्धान अधिकृत कुँवरले अनुमोदनसंग भने– रसायन प्रयोग गरेर बनाएको कालोचुक शुद्ध कालोचुक जस्तै देखिन्छ । यो चुकको बास्ना, स्वाद र रंग शुद्ध कालोचुक जस्तै हुने गरेको छ ।
उनका अनुसार रसायन प्रयोग गरि बनाइएको कालोचुक मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । ‘यस्तो चुक बनाउन अखाद्य रसायन, रंग र तरल पदार्थ प्रयोग गरिएको हुन्छ’ उनले भने– ‘यो प्रविधि भारतबाट भित्रिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार