१० श्रावण २०८१, बिहीबार

सहकारी संस्थालाई बैंक ठान्नुहुदैन– नगरप्रमुख वड



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरूलाई बैंकको रुपमा नबुझ्न आग्रह गरेका छन् ।


सोमबार धनगढी उपमहानगरपालिकाको सहकारी महाशाखाले आयोजना गरेको सहकारी संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रममा नगरप्रमुख वडले सहकारी संस्थाको लगानी उत्पादनशिल क्षेत्रमा लगाउन पनि आग्रह गरे ।
उनले सहकारी संस्थाहरुले साना ब्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने बताए । “बाणिज्य बैंकहरूले गर्ने काम पनि सहकारी संस्थाहरूले गर्न खोज्दा समस्या भएको छ” उनले भने ।
उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले सहकारी संस्थाहरूले आर्थिक तथा सामाजिक रुपमा बिपन्न व्यक्ति तथा परिवार र समुदायको जीवनस्तर उकास्न अहम् भूमिका निर्वाह गर्न आग्रह गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले सहकारी संचालकहरूमा ब्यबस्थापकीय सीप आवश्यक भएको बताए ।
समिक्षा कार्यक्रममा सहकारी संचालकहरूले सहकारी सूचना केन्द्र संचालनमा ल्याउनुपर्ने, बर्षको कम्तीमा दुईपटक समिक्षा कार्यक्रम राख्नुपर्ने सुझाव दिएको सहकारी महाशाखा प्रमुख हरिसिंह सावदले बताए ।
समिक्षा कार्यक्रममा धनगढी उपमहानगरपालिका क्षेत्रका ८० वटा सहकारी संस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार