नदीजन्य पदार्थको चोरीनिकासीमा बृद्धि
धनगढी । वर्षायामका तीन महिनाको अवधिमा नदी तथा खोलाबाट ढुंगा, बालुवा तथा गिट्टी उत्खनन् तथा संंकलन र निकासीमा रोक लगाइएको भए पनि कैलालीका खोला, नदीहरूबाट नदीजन्य पदार्थको चोरीनिकासीमा बृद्धि भएको छ ।
जिल्लाका विभिन्न नदी तथा खोलाहरूबाट मापदण्ड विपरित ढुङ्गा, गिट्टी र बालुवा चोरी निकासी भइरहेको पाइएको छ जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सुर्यबहादुर थापाले नदीजन्य पदार्थ चोरी भइरहेको बताए । वातावरणमा प्रभाव पर्न नदी हरेक वर्ष असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन रोक लगाइने गरेको छ । रोक लगाएको बेला नदीजन्य पदार्थको भाउ बढि पाइने गरेकाले चोरी निकासी हुने गरेको छ ।
नदीजन्य पदार्थ चोरी भइरहेको भए पनि स्थानीय निकायहरूले रोक लगाउन सकेका छैनन् । जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरू लगायतका सदस्य रहेको अनुगमन समितिले चोरी निकासी रोक्न सकेको छैन । समन्वय समितिका सूचना अधिकारी विरराम ताम्राकारले निकासी रोक लगाएको अवधिमा अनुगमन हुन नसकेको बताए ।
प्रहरीले भदौ महिनामा नौ वटा ट्रयाक्टर र त्यसका ड्राइभरहरूलाई पक्राउ गरी जिल्ला समन्वय समिति कैलालीलाई बुझाएको छ । जिल्ला समन्वय समितिका अनुसार भदौ २ गते दुई वटा र भदौ २३ गते सात वटा ट्रयाक्टर प्रहरीले पक्राउ गरी समितिमा पठाएको छ । जिल्ला समन्वय समितिका सूचना अधिकारी ताम्राकारले प्रत्येक ट्राक्टरलाई ६ हजारका दरले धरौटी लिएर छोडिएको बताए । उनले समन्वय समितिको बोर्ड बैठकबाट थप जरिवाना समेत लिन सक्ने बताए । उनले ट्राक्टरमा लोड गरिएका बालुवा समेत जफत गरिएको बताए ।
धनगढी उपमहानगरपालिका–१९, पथरीस्थित खुटिया नदीबाट सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वार्टर कैलालीको टोलीले आइतबार राति साढे ८ बजे चालकसहित सात ट्रयाक्ट पक्राउ गरी सोमबार समन्वय समितिमा बुझाएको थियो । ३४ नम्बर गणका सशस्त्र प्रहरी नायव उपरीक्षक भीम चन्दले नदीबाट ट्रयाक्टरमा लोड गरेर नदीबाट बालुवा लोड गरिरहेको सूचना आएपछि टोली पठाएर पक्राउ गरेको बताए । उनले खुटिया नदीबाट अवैध रूपमा बालुवा लोड गरी धनगढीतिर ल्याइरहेको अवस्थामा चालकहरू सहित पक्राउ गरिएको बताए ।
जिल्ला समन्वय समितिका अनुसार धनगढी उपमहानगरपालिका–१ वसन्त टोलका से १ त ५८८२ नम्बरको ट्रयाक्टरसहित सञ्जय यादव, से २ त ३६९२ नम्बरको ट्रयाक्टर सहित सुनिल चौधरी र से १ त ७२२१ नम्बरको ट्रयाक्टरसहित रामपुकार सहानीलाई सशस्त्र प्रहरीले पक्राउ गरी समितिमा बुझाएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नं. ५ जाईका गजेन्द्र चौधरीलाई से १ त २३८८, वडा नं. ८ का करण चौधरीलाई से १ त ३६०८, वडा नं. ६ जालीका इन्द्र चौधरीलाई से २ त २२१६ र वडा नं. ७ मनहेराका बर्षातु चौधरीलाई से १ त ५५१५ नम्बरको बालुवा लोड गरिएको ट्रयाक्टर सहित पक्राउ गरेको ३४ नम्बर गणले जनाएको छ ।
वर्षातको समयमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाईएपनि अटेरी गर्दै बालुवा उत्खनन गरेपछि उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक भीम चन्दले बताए । ३४ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक गोविन्द सिंहले यि सात वटै ट्रयाक्टरमा मालिक फरक फरक रहेको र फरक फरक घर निर्माणका लागि बालुवा ल्याइरहेको बुझिएको बताए ।
यसअघि भदौं २ गते जिल्ला प्रहरी कार्यालयले बुद्धिराम चौधरीलाई से १ त ४८८४ र मिनबहादुर चौधरीलाई से २ त २१२१ नम्बरको बालुवा लोड गरिएको ट्रयाक्टरसहित धनगढी–७ बाट पक्राउ गरी समितिमा बुझाएको थियो ।