१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : क्राइम हब बन्ने खतरा



साना हातहतियार, मिटर ब्याज, करोडौ रकमका तमसुक, अर्बौ रुपैयाका बैंकचेक सहितका अपराधिक गतिविधि चलाइरहेको सञ्जय राणा (राना) गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेपछि एक पटक फेरि धनगढीमा अपराधिक गतिविधि कति हदसम्म बृद्धि भइरहेको छ ? भन्ने देखाएको छ । मिटर ब्याजको धन्धा चलाउनेहरूमध्ये यो गिरोह अग्रस्थानमा रहेको प्राप्त कागजपत्रले पुष्टि गरेको छ । कुनै ठूलो व्यापार व्यवसाय नगर्ने, तर धनाड्य व्यक्तिको जस्तै ठाटबाठको जीवन बिताउनेहरूमध्ये यो गिरोह पनि देखिएको छ । केही साताअघि धनगढीको एक व्यस्त टोलबाट नक्कली नोट छपाई गर्ने एक गिरोहका सदस्यहरू नक्कली नोट छाप्ने मेसिन तथा नक्कली नोट सहित पक्राउ गरिएको थियो । लागू पदार्थ चरेश तथा आलू औषध ओसारपसारका घटनामा निरन्तर बृद्धि भइ्रहेको छ । त्यस्तै, कैलालीका विभिन्न सिमा नाका भएर मानव बेचखिन तथा ओसारपसारका घटनामा हरेक वर्ष बृद्धि भइरहेको तथ्यांकले देखाएको छ । दुर्लभ बन्यजन्तु्को छाला तथा हाडको धन्धाका घटना दोहोरिदै आएका छन् । भारतबाट अवैध रुपमा सामान तस्करी त सामान्य भइरहेको अवस्था छ । मोटरसाइकल चोरी अर्को समस्याका रुपमा रहेको छ । यी सबै घटनाक्रमले धनगढी तथा जिल्लाका केही स्थान अपराध केन्द्रका रुपमा देखिने खतरा बढ्दै गएको देखिन्छ ।
अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सक्रियतामा कमी आएको भन्न नसकिए पनि केही अपराधिक घटनाको वास्तविकता र दोषिहरू अझैं पत्ता लाग्न नसकेको अवस्था छ । केही वर्षअघि अत्तरिया नजिक दिउसै भएको बैंकको रकम डकैतीको घटनाको अझ्रै पनि सत्यतथ्य पत्ता लाग्न सकेको छैन । त्यस्तै, केही वर्ष अघि धनगढीमा एक युवकको हत्या भएृकोमा अहिलेसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । अर्कोतिर, धनगढीमा देहव्यापारमा पनि निकै बृद्धि आएको चर्चा हुने गरेको छ । साना हतियारको ओसारपसारकोे धन्धा तत्कालीन माओवादी द्वन्द्वका वेलादेखि नै फस्टाएकोमा अहिले झन् व्यापक बनेको विभिन्न अपराधिक घटनाक्रमले देखाइरहेका छन् ।
साना हतियार तथा मिटर ब्याजसहितका अपराधिक गतिविधिमा संलग्न रहेको सञ्जय गिरोह प्रहरीद्वारा पक्राउ गरिएको सन्दर्भमा यस्ता अपराधिक गतिविधिमा संलग्न अन्य कुनै पनि गिरोह वा व्यक्तिलाई पनि नियन्त्रणका लागि व्यापक प्रयास हुने नै छ । मुख्य सवाल धनगढी सहित जिल्लाका विभिन्न स्थानमा फैलिदै गएको अपराधिक गतिविधिको कडाईका साथ नियन्त्रण गर्दै आम जनतालाई शान्तिसुव्यवस्थाको प्रत्याभ्रूति दिनु नै हो । धनगढी प्रदेशको अस्थायी राजधानी पनि हो । त्यसैले धनगढीमा शान्ति सुरक्षाको प्रबन्ध सबैको चासो र चिन्ताको विषय हो । एकपछि अर्को अपराधिक घटना सार्वजनिक भइरहदा आम नागरिकमा भय र त्रासको वातावरण बन्नु स्वाभाविक नै हो । निश्चय पनि मुलुक संघीयतामा प्रवेश गरेपछि अहिलेसम्म एक किसिमको संक्रमणको अवस्था देखिन्छ । आवश्यक नीति तथा ऐनकानून नबनेका कारण प्रहरी परिचालनमा अलमल देखिन्छ । तर, यी सबै कारणले लामो समयसम्म शान्ति सुरक्षाको स्थितिलाई कमजोर बनाउन सकिदैन । त्यसैले धनगढी वा अन्य कुनै पनि स्थान क्राइम हबका रुपमा विकास हुनु अघि नै सुरक्षाको बलियो प्रबन्ध आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार