११ पुष २०८१, बिहीबार

ठूलो अपराधिक गिरोह प्रहरीको फन्दामा



धनगढी । धनगढीमा संगठित रुपमा ठूलो अपराधिक गतिविधि गरिरहेको सञ्जय राणा (राना) गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना र कमल बिक तथा वडा नम्बर ३ का रुद्र अधिकारीलाई नियन्त्रणमा दिएको थियो ।
सिआइबीले राणाको डेराबाट पेस्तोल, रिभोल्बर, गोलीगठ्ठा, ठूलो परिमाणमा सुनका गहना, अर्बौ रुपैयाका नक्कली चेक, अलगअलग नागरिकता, करोडौ रुपैयाको तमसुक लगायतका सामग्री बरामद गरेको छ ।
गिरोहको मुख्य नाइके सञ्जय सहित तीन अभियुक्तलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीमा अभियुत्तहरूलाई सार्वजनिक गर्दै प्रहरीले धनगढी वडा नम्बर ४, चटकपुरबाट पक्राउ परेका सञ्जयको डेराबाट बरामद गरिएको नेपाल राष्ट्र बैंकका तीन थान नक्कली चेक, चार थान पेस्तोल, छाप, नक्कली पत्रहरू पनि सार्वजनिक गरेको छ ।
कैलाली जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सुदिप गिरीका अनुसार अभियुक्तको डेराबाट एक थान पेस्तोल, एक थान रिभोल्बर, दुई थान कटुवा पेस्तोल, सात राउण्ड गोली, एक थान चक्कु, छ सय ७९ दशमलव ३६ ग्राम सुनका गहना बरामद गरिएको छ । प्रहरी उपरीक्षक गिरीले मुख्य अभियुक्त सञ्जयको सञ्जय राणा र सञ्जय सम्सेर जंगबहादुर राणाको नाममा जारी भएका दुई थान नागरिकता समेत फेला परेको जानकारी दिए ।
त्यस्तै, विभिन्न व्यक्तिका नाममा लिनेदिने गरी बनाइएको १८ करोड तीन लाख ६४ हजार रुपैयाका २३ थान तमसुक समेत बरामद भएको उनले बताए ।
त्यस्तै, एक अर्ब छ करोड ३७ लाख ७३ हजार एक सय ७५ रुपैया“, ४१ करोड ६५ लाख तीन हजार सात सय ८३ रुपैया“ र ४२ करोड १७ लाख ५० हजार सात सय सात रुपैयाका गरी तीन थान वटा नेपाल राष्ट्र बैंकले जारी गरेको दाबी गरिएको तीन थान नक्कली बैंक ड्राफ्ट र विभिन्न व्यक्तिको नाममा जारी भएका दुई करोड ४५ लाख २० हजार रुपैया“का १९ थान र विभिन्न बैंकका साइन गरिएका ३८ थान ब्ल्यांक चेक समेत बरामद गरिएको जनाइएको छ ।
प्रहरी उपरीक्षक गिरीले विभिन्न सरकारी कार्यालयका ४१ थान नक्कली छाप, ३६ थान वित्तीय कारकोबार गर्ने संस्थाहरुले प्रयोग गर्ने ३६ थान नम्बरिङ मेसिन, जिल्ला अदालत कैलाली, मालपोत कार्यालय कैलाली र टीकापुर, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था कार्यालयका नगदी रसिदका ठेलीहरु, सीम कार्ड सहितका ६ थान मोबाइल, २ थान सिमकार्ड, नम्बरिङ स्ट्याम्प प्रहरीले प्रयोग गर्ने बेल्ट, चेष्ट नेम प्लेट, निलो चुस्ता लगायतका सामानहरु समेत बरामद गरिएको बताए ।
उनले बा २० च ४२२० नम्बरको कार र से २ प ३१२४ नम्को मोटरसाइकल समेत बरामद गरिएको बताए । उनले विभिन्न कार्यालयका लेटर प्याड, चेक बनाउन प्रयोग हुने कागज लगायातका सामाग्री बरामद गरिएको बताए ।


गिरोहको मुख्य नाइके सञ्जयले नेपाल राष्ट्र बैंकका नक्कली चेक र कागजात देखाई प्रलोभनमा पारेर रकम असुलेर मिटर व्याजमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक गिरीले बताए । उनले सञ्जय गिरोह सुन र साना हतियार, मिटर व्याजको अबैध धन्दामा लामो समयदेखि संलग्न रहेको प्रमाणहरु फेला परेको बताए ।
प्रहरीले मुख्य नाइके सञ्जयको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा रहेको आलिशान घरको खानतलासी समेत गरेको छ । सञ्जय र उसको गिरोहले मिटर ब्याज, जग्गाको किर्ते कारोबार, हतियार खरिद विक्री लगायतका गैरकानुनी धन्दा चलाउने गरेको तथ्य फेला परेको प्रहरी उपरीक्षक गिरीले बताए ।
उनले मुख्य नाइके सञ्जय र उसको गिरोहबारे गहन अनुसन्धान भइरहेको बताए । प्रहरी उपरीक्षक गिरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर तीनै जनालाई हिरासतमा राखिएको बताए ।
सञ्जय गिरोह साना हतियार सुन, मिटर व्याज, ढुकुटी लगायतका अबैध धन्दामा संलग्न भएको जानकारी पाएपछि सिआईवीले चार दिनदेखि पिछा गरेको बताइएको छ । बाहिर देखिने कुनै व्यापार व्यवसाय संलग्न नभए पनि सञ्जयको जीवनशैली र आर्थिक हैसियत देखेर सिआईवीको टोलीले अनुसन्धान थालेको बताइन्छ ।
सञ्जयले रुद्र अधिकारीको नाममा हरेक कारोबार गर्ने गरेको र त्यसमा कमल बिकले सहयोग गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार