१० श्रावण २०८१, बिहीबार

हेलो सिएम प्रभावहीन



धनगढी । सुदूरपश्चिम प्रदेशका जनताले फोन मार्फत आफ्ना गुनासा सुनाउन पाउने गरी गत वर्षदेखि शुरु भएको हेलो सिएम कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

जनताले सिधै मुख्यमन्त्रीकहाँ गुनासो पुर्‍याउने माध्यमका रुपमा सञ्चालन गरिएको हेलो सिएम प्रभावकारी बन्न नसकेपछि जनताबाट गुनासा पनि आउन छोडेका छन् ।
गत वर्ष जेठ ७ गतेदेखि शुरु भएको हेलो सिएम कार्यक्रममा सो महिनामा ८९ वटा गुनासा आएका थिए । ती जनगुनासा सम्बोधनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको थियो ।
कार्यक्रम शुरु भएको महिनामा जनताले आफ्ना गुनासाको उचित सम्बोधन हुने विश्वासका साथ हेलो सिएम कार्यक्रममा गुनासा दर्ता गराएको भए पनि ती गुनासा सम्बोधनका लागि पहल नभएपछि कार्यक्रमप्रति जनताको विश्वास क्षीण हुदै गएको छ । फलस्वरुप हेलो सिएम कक्षमा जनगुनासा आउने क्रम निकै कम भएको छ ।
गत वर्ष फागुनमा दुई र चैतमा एक मात्र गुनासो आएको मूख्यमन्त्री कार्यालयले जनाएको छ ।
त्यस्तै, गत बैशाखमा चार, जेठमा दुई, असारमा पा“च र साउन महिनामा छ वटा गुनासा मात्रै छन् । भदौ महिनाको मंगलबारसम्म हेलो सिएममा एउटा पनि गुनासो आएको छैन ।
मूख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सूचना अधिकारी जगदिश जोशीले हेलो सिएम कार्यक्रम लागू भएदेखि हालसम्म एक सय ८६ वटा गुनासा आएको जनाएको छ ।
निकै तामझामका साथ हेलो सिएम कार्यक्रम सञ्चालन गरिएको भए पनि गुनासा सम्बोधन प्रभावकारी नबनेपछि जनताका गुनासा समेत आउन कम भएका छन् । आजभोली फोन समेत आउन छोडेपछि फोन उठाउने कर्मचारी पनि भेटिदैनन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले भने आएका जनगुनासा सम्बोधन भइसकेको दावी गरेको छ । कार्यालयका सूचना अधिकारी जोशीले हालसम्म आएका सबै गुनासाको सुनुवाई भएकै कारण गुनासा आउन कम भएको दाबी गरे ।
उनले हेलो सिएम कार्यक्रमलाई थप प्रभावकारी बनाउन यस चालू आर्थिक वर्ष पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए ।
सर्वसाधारण नागरिकको सहजै मन्त्रालय र सरकारसम्म पहु“च पु¥याउन र जनस्तरबाट उठेका गुनासोहरुलाई उचित ढंगले सम्वोधन गर्ने उद्देश्य सहित गत जेठ ७ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेलो सिएम’ कार्यक्रम उदघाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार